गैसस सरोकारवालबीच अन्तरक्रिया

0
Shares

भक्तपुर ।
पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले राजनीतिमा प्रतिस्पर्धा भएता पनि विकासमा ऐक्यवद्धता जनाई काँधमा काँध मिलाई अघि बढ्नुपर्ने बताउनु भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरले आयोजना गरेको अन्तरक्रिया तथा आचार संहिता समिक्षा कार्यक्रममा बोल्दै सांसद बस्नेतले गैरसरकारी संस्थाहरुमा भएको भ्रमको अन्त्य गर्नुपर्ने भन्दै नगरपालिका तथा प्रशासनले गैरसरकारी संस्थालाई साथ र सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले धेरै गैर सरकारी संस्थामध्येमा नगन्य मात्रामा केहिले गलत गरे भन्दैमा सबैलाई एउटै डालोमा राखेर नकरात्मक रुपले हेर्दा सामाजिक रुपमा ठूलो क्षती हुने बताउनु भयो ।

सामाजिक क्षेत्रमा गैरसरकारी संस्थाको भुमिका महत्वूर्ण रहेको भन्दै सांसद बस्नेतले कसले के भन्यो भन्दा पनि हामीले के गरिरहेका छौं भनि मुल्याङकन गर्नु नै अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । कार्यक्रममा सांसद बस्नेतले बिरोधको नाममा राजनीति गर्नेहरुको आयु धेरै दिन नटिक्ने भन्दै भक्तपुरमा अन्तराष्ट्रिय रंगशाला, सभागृह, करिडोर, सुरुङ मार्ग, सडक बिस्तार, उज्यालो भक्तपुर, दुर्घटनामुक्त भक्तपुर, अपराधमुक्त भक्तपुर, चोरीमुक्त भक्तपुर, दुर्घटनामुक्त भक्तपुर, बलात्कार मुक्त भक्तपुर, शिक्षित भक्तपुर, स्मार्ट सिटी बन्ने कुरामा कुनै बिरोधले रोक्ने नसक्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश ३ का सांसद सरस्वती बाटी, रजनी जोन्छे, प्रतिमा श्रेष्ठले प्रदेश सभामा सामाजिक विकास विधेयक छलफलका लागि प्रस्तुत भएकाले गैसस मैत्री कानुन निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणमा गैससको भूमिका महत्पूर्ण हुने उहाँहरुको तर्क छ । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले प्रदेश र केन्द्रिय सरकारले मस्यौदा गरेको विधेयकले गैसस संचालन विधि र प्रक्रियालाई व्यवस्थित बनाउने बताउनु भयो । उहाँले गैससको दर्ता, नबिकरण सिफारिस र अनुगमन गर्ने अधिकार जिससलाई दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाहरु स्वायत्त भइसकेको अवस्थामा नगरपालिकाको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरका लागि गैसहरुसँग सहकार्य गरेर अगाडि बढने बताउनुभयो । उहाँले संस्थाहरुको आवश्यकताका कार्यक्रम र योजना भन्दा पनि नगरपालिका र नगरभित्रका जनताको आवश्यकताका कार्यक्रमहरु सञ्चालन हुनुपर्ने बताउनुभयो । अन्तरक्रियामा बोल्दै गैसस महासंघका केन्द्रिय कोषाध्यक्ष जितराम लामाले स्थानीय, प्रदेश र केन्द्रिय सरकारले कानुन निर्माण गर्दा गैससहरुको भूमिकालाई कमजोर बनाउन नहुनेमा जोड दिनुभयो । सरकारले गैससहरुले सञ्चालन गर्ने कार्यक्रमहरुको नियमन, अनुगमन र व्यवस्थापनलाई प्रभावकारी बनाउन पर्ने बताउनु भयो ।

अन्तरक्रियामा केन्द्रिय सदस्य डिल्लु् घिमिरे, गैसस भक्तपुरका सल्लाहकार दुर्गामोहन श्रेष्ठ, उपाध्यक्ष जयराम थापा, कोषाध्यक्ष पहलमान श्रेष्ठलगायतले गैससहरुको दर्ता, नबिकरण र सञ्चालनमा स्थानीय तहबाट समन्वय, सहकार्य र सहयोगमा समस्या देखिएको भन्दै जनप्रतिनिधिहरुले गैससमा सञ्चालनमा देखिएका जटिलता अन्त्य गर्दै सामाजिक रुपान्तरणमा सहकार्य गर्न आग्रह गर्नुभयो । अन्तरक्रियामा बोल्दै गैरसरकारी संस्था नेपाल भक्तपुर शाखाका अध्यक्ष सोम शर्मा बजगाईंले गैरसरकारी संस्थालाई जनमानसले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पर्ने बताउनु भयो ।

उहाँले गैरसरकारी संस्था सम्बन्धी निर्माण भइरहेका कानुन निर्माणमा गैसस मैत्री कानुन निर्माणको वातावरण बनाउन सांसदहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा सहभागीहरुले संस्था दर्ता र नबिकरण प्रक्रिया जटिल रहेको, घरभाडा कर पनि दोहोरो हुने गरेको, स्थानीय तहका कार्यालयहरु अपाङ्गमैत्री नभएको, कार्यक्रम सञ्चालन गर्दा नगरपालिकाले स्वीकृति नदिने र सहयोग नगरेको गुनासो गरेका थिए ।