बालबालिकासम्बन्धी विधेयक, २०७५ स्वीकृत

0
Shares

काठमाडौँ ।
‘बालबालिकासम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव आजको राष्ट्रियसभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा सांसद दिलकुमारी थापा रावल, राधेश्याम अधिकारी, बिमला राई पौडेल, बिमलादेवी आलेमगर, रामनारायण विडारी र कोमल वलीले विसं २०४८ मा बनेको बालबालिकासम्बन्धी ऐनले सबै कुरा समेट्न नसकेकाले नयाँ विधेयक ल्याउनु परेको बताउनुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री थापाले स्थानीय तहसम्म बाल विकास अधिकृतको व्यवस्था गरिएको, स्थानीय सरकारको तहसम्म बालबालिकाका लागि जनचेतना जागृत गराउने व्यवस्था विधेयकमा गरिएको जानकारी दिनुभयो ।

यसैगरी बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले वातावरण संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभाको बैठकमा पेश गर्नुभएको छ ।

सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सरोकार तथा समन्वय समिति सदस्य सांसद तारादेवी भट्ट दिगो विकास तथा सुशासन समितिमा, सांसद इन्दु कडरिया दिगो विकास तथा सुशासन समितिबाट राष्ट्रिय सरोकार तथा समन्वय समितिमा हेरफेर गरिएको जानकारी बैठकलाई गराउनुभयो ।
रासस