नेकपा संसदीय दलको बैठक सम्पन्न

0
Shares

साना परियोजनाको कार्यालय खोल्न लागिएकोमा आपत्ति

हेटौंडा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३ नम्बर प्रदेश संसदीय दलको बैठक मंगलबार बसेको छ । बैठकमा संसदीय दलका नेता एवम् प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार दीर्घकालिन योजना लिएर अगाडि बढिसकेको बताउनुभयो ।
उहाँले योजनाहरु सम्पन्न गराउन सबैले सहकार्य गर्नु जरुरी रहेको बताउनुभयो । हाल प्रदेशसभाबाट १७ वटा विधेयक पास भइसकेको बताउँदै प्रदेश सरकारको काम सन्तोषजनक रहेको उहाँको भनाइ थियो । हाल कानुन निर्माणको विषयलाई तीव्रता दिइएको भन्दै मुख्यमन्त्री पौडेलले विस्तारै अन्यौलता हट्ने बताउनुभयो ।

बैठकमा मन्त्रिपरिषद् बैठकबाट दिइएका सैद्धान्तिक सहमतिका विषय, प्रदेशसभाबाट पारित विधेयकका विषयमा छलफल भएको थियो । बैठकले संसदीय काम, पार्टीको काम र सरकारका कामका विषयमा पनि छलफल गरेको सांसद् रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।
संघीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध कसरी मजबुत पार्ने भन्ने सम्बन्धमा पनि छलफल भएको थियो । संसदीय दलको बैठकमा संघीय सरकारले साना÷साना परियोजनाको पनि कार्यालय खोल्न लागेको भन्दै आपत्ति व्यक्त गरिएको छ ।
३ नम्बर प्रदेशलाई हरित प्रदेश, फलफुल वर्षका रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्रस्तुत गरेका अवधारणामा रहेको प्रोजेक्ट बैंकलाई दीगोरुपमा अगाडि लैजान सांसद्हरुले आग्रह गरेका थिए । आगामी बैठकमा मन्त्रालय, प्रदेशस्तरीय समिति र सरकारका कामको प्रतिवेदनसहित छलफल हुने उहाँले बताउनुभयो ।

बैठकमा सांसद्हरु शशिजंग थापा, प्रदीप कटुवाल, केशबराज पाण्डे, कञ्चन खनाल, आशामाया तामाङ, रमा आले, बेलीमाया घले, शान्तिराम पौडेल, प्रेमबहादुर पुलामी, हिमाली गोले, सरस्वती बस्नेत, लेखनाथ दाहाल, योगेन्द्र संग्रौला, रामकुमार अधिकारी, बद्रि मैनालीलगायतले बजेट कार्यान्वयन सम्बन्धि कार्यविधि सम्पन्न गरी छिटो भन्दा छिटो कार्यान्वयनको दिशामा अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।