३ बर्षमा २ सय बढीको उद्दारः एक सय सैतीस बालबालिका मात्रै

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
पछिल्लो ३ बर्ष यता बैतडीस्थित नेपाल –भारत सीमानाका झुलाघाटवाट उद्दार गरिने महिला बालबालिकाको संख्या बढ्दै गएको छ । ३ बर्षमा सीमानाका झुलाघाटवाट २ सय बढी महिला तथा बालबालिकाको उद्दार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका ईञ्चार्ज, प्रहरी नायव निरीक्षक उमेशकुमार पालले जानकारी दिए । उद्दार गरिएकामध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । उनले भने “३ बर्षमा २१७ जनाको सीमानाकावाट उद्दार गरिएको छ”
३ बर्षयताको तथ्यांक हेर्दा सीमाक्षेत्रवाट उद्दार डरलाग्दो रहेको छ । आर्थिक बर्ष २०७२÷०७३ मा ६० जनाको उद्दार गरिएको छ । जसमध्ये २३ महिला, २७ बालबालिका रहेका रहेका छन् । सीमा प्रहरी चौकी झुलाघाटका अनुसार २०७३÷०७४मा त्यो संख्या बृद्धि हुदै ७३ पुगेको छ । जसमध्ये २४ महिला र ४० बालबालिका रहेका छन् ।


गत आर्थिक बर्ष २०७४÷०७५ मा त्यो संख्या पुनःबढेर ८५ पुगेको छ । जसमध्ये ७० बालबालिका र १७ महिला रहेका छन् ।
विद्यालय उमेर समूहका बालबालिका धेरै
घरमा आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागी विद्यालय उमेर समूहका बालबालिकाका समेत भारत जाने भएकोले तिनीहरुको पनि उद्दार गरिएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । विद्यालयमा पढाईका साथै घरमा आर्थिक अवस्था कमजोर भएकाले स्कुले बालबालिका पनि भारत जाने गरेका प्रहरी नायव निरीक्षक उमेशकुमार पालले बताए । विद्यालयको एक महिना बिदामा समेत रोजगारीका लागी भारत पस्छन् उनले भने“चैत, बैशाखको महिनामा बढीजसो स्कुले बालबालिकाको उद्दार गरिन्छ” । उद्दार गरिनेमा १२ बर्षदेखि १८ बर्षमुनिका बालबालिका तथा किशोरकिशारी बढी रहेका छन् । अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीहरुको लहैलहमा लागेर पनि भागेर जाने गरेका प्रहरीले जनाएको छ ।
यस्तै घरको आर्थिक अवस्था कमजोर भएका बालबालिका पनि बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले बताए । १२ बर्ष देखि १९ बर्ष सम्मका बिद्यार्थी कोही घरपरिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जाने गरेका छन्। विद्यालय पढ्ने बालबालिका विद्यालय छोडेर जाने तथा कुनै कुनै बालबालिका काम गर्नका लागी साथीको लैहैलहमा लागेर भागेर जाने गरेका छन उनले भने“ कुनै कुनै बालबालिका विद्यालय पढ्न मन नलागेर तथा आर्थिक अवस्था कमजोर भएका र वेवारिसे पनि रहेका छन्” उनले भने“धेरैजसो बालबालिका भागेर बिवाह गर्न र भारतमा लुक्नका लागी जाने गरेका छन”
सीमानाका झुलाघाटबाट उद्घार गरिएको बालबालिका तथा किशोरकिशोरीलाई सम्झाई बुझाई जिल्ला प्रहरी कार्यालयवाट सम्वन्धित अभिभावकको जिम्मा लगाईने गरिएको छ ।
घरवाट भागेर रोजगारीको लागी भनेर बढीजसो कात्तिक र मंसिर महिनामा जाने गरेका छन् । हिउँदको समयमा भारतमा रोजगारी गरेर चैत्रमा उनीहरु घर फर्किने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । यस्तै भागेर बिहे गर्ने केटाकेटी भने जतिबेला पनि भारत जाने गरेको बताईएको छ ।
सीमानाका झुलाघाटवाट उद्घार गरिएको बालबालिका तथा किशोरकिशोरीहरु प्रदेश नं ७ (सुदूरपश्चिम)का पहाडी जिल्लाका साथै कालिकोट ,हुम्ला र मुगुका समेत रहेका छन् ।
–––