एसिया कप छनोटमा हङकङविरुद्ध नेपाल ९५ रनमा अलआउट


काठमाडौं ।
एसिया कप छनोट अन्तर्गत हङकङविरुद्ध नेपाल ९५ रनमा अलआउट भएको छ।

यसअघिका ४ खेलमा २ मा जित र २ मा हार बेहोरेको नेपाल आफ्नो अन्तिम खेल उत्कृष्ट खेल्ने लक्ष्यका साथ मैदान उत्रिए पनि त्यसमा राम्रो गर्न सकेन । खेलको सुरुवात देखि नै नेपालले खराब ब्याटिङ गरेको थियो ।

५० ओभरको खेलमा नेपालले ३७.५ ओभर मात्र खेल्न सकेको छ । आरिफ शेखले सर्वाधिक १८ रन, कप्तान पारस खड्का १४, अनिल साह १५, ज्ञानेन्द्र मल्ल १२ र बसन्त रेग्मीले १५ रन बनाएका हुन् ।
नेपालको इनिङ ध्वस्त पार्ने क्रममा हङकङका इशास खानले ४ विकेट लिएका थिए । ७ ओभर बलिङ गरेका उनले १५ रन दिँदै नेपालका ४ खेलाडीलाई पभेलियनको बाटो देखाएका छन् । अजिज खान र तनभिर अफजलले समान २–२ विकेट लिए भने नदिम अहमद र इशान नवाजले समान १–१ विकेट लिएका छन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल मलेसियामा भएको ओफ्नो पहिलो छनोट खेलमा ओमानसँग अप्रत्यासित हार बेहोरेको थियो । आज हङकङसँग पराजित भएमा तेस्रो हार हुनेछ । यो हारसँगै नेपाल एसिया कप छनोटबाट बाहिरिनेछ ।
आजको खेलमा सुवास खकुरेल, र ललितजङ्ग राजवंशीले खाताका कुनै पनि रन जोड्न सकेनन् ।