नमुना नगर बनाउने प्रतिवद्धता

0
Shares

काभ्रे ।
नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपलिकाका प्रमुख अशोक ब्याञ्जुले देश भरका नगरपालिकाहरुलाई विभिन्न विकासका योजनाहरुले सम्वृद्ध बनाउनु पर्ने बताएका छन् ।

धुलिखेल नगरपालिकाले बधाई र शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ब्याञ्जुले सडक, शिक्षा, स्वास्थ्य, सुकुम्बासी समस्या समाधान, पूर्ण सरसफाई लगायतका क्षेत्रमा कार्य गर्नु पर्ने बताए । ‘हामी आगामी वर्ष भित्रै धुलिखेल नगरपालिकालाई सुकुम्बासी मुक्त नगरपालिका बनाउने अभियानमा छौं’–अध्यक्ष ब्याञ्जुले भने–‘सबैको घर घरमा पानी, शत प्रतिशत साक्षर, पूर्ण सरसफाई सहितको खुल्ला दिशा मुक्त नगरपालिका घोषणा, वातावरण, बालमैत्री नगर, नगर प्रमुख गरिवी निवारण कोष मार्फत सिप आर्जन गरी गरिवी न्युनिकरण गर्ने छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भने ।

‘जनता सचेत र धनी नभएसम्म नगर धनी हुन सक्दैन’–उनले भने–‘मानविय शंसाधनका क्षेत्रमा काम गरी नगरलाई अझै सम्वृद्ध बनाउनु पर्छ ।’ एकजुट भएर काम गर्दा असम्भव भन्ने नै केहि नहुने बताउँदै ब्याञ्जुले नेपाल नगरपालिका संघलाई साताको एक दिन समय उपलब्ध गराउने र बाँकी समय धुलिखेल नगरकै काममा लाग्ने बताए । कार्यक्रममा उपप्रमुख विमला शर्माले नगरका समग्र विकास निर्माणमा जनप्रतिनिधी र कर्मचारीहरु एकजुट हुनु पर्ने बताईन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले धुलिखेलमा गरिने विकासले समग्र नगरपालिकाहरुको विकासको रुप देखिने भएकाले धुलिखेलमा विकास र जनताका सेवाहरुमा ध्यान दिनु पर्ने बताए ।

निमित्त प्रशासकिय प्रमुख धनबहादुर बस्नेत, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभागका प्रमुख तथा कर्मचारीहरु, विभिन्न विद्यालय तथा कार्यालयका कर्मचारीहरुले नगर प्रमुख ब्याञ्जुको कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै बधाई दिएका थिए ।