प्रदीपका फ्यानलाई गुलाब उपहार

0
Shares

पछिल्लो समयमा चकलेटी हिरो प्रदीप खड्काको क्रेज दरो छ। जहाँ जान्छन्, फ्यानबाट घेरिन्छन्। यसैलाई हेरेर रिलिजमा हुन लागेको फिल्म रोजको प्रमोसनल टुरका लागि प्रदीप खड्का, नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हास्यकलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठलगायतको टिमका साथ विभिन्न शहर पुगिरहेका छन्।

आइतबार इटहरी र धरानको कन्सर्ट सम्पन्न गर्ने क्रममा आयोजित कन्सर्टमा पनि प्रदीप र रोजको टिमले उल्लेख्य फ्यानको साथ पायो। इटहरी र धरानको भानुचोकमा भएको कन्सर्टका क्रममा प्रदीपले आफूलाई हेर्न र भेट्न आएका युवा युवतीलाई स्टेजबाटै गुलाबको फूल, फिल्मको नाम लेखिएको टीसर्ट दिएर दंग पारिदिए। प्रदीप केही दिनदेखि विभिन्न शहरमा यसैगरी गुलाबको फूल बाँडेर रमाइरहेका छन्। ‘योभन्दा अघिका फिल्मका लागि पनि यस्तै कन्सर्टमा लागेको थिएँ। त्यतिखेर पनि दर्शकले निकै ठूलो साथ दिनुभएको थियो, त्यो साथ आज पनि पाएको छुः’ –प्रदीपले भने।

कन्सर्टका क्रममा नायिकाद्वय मिरुना र परमिताले पनि फिल्मको बारेका जानकारी गराएका थिए। धरानमा नायिका मिरुनालाई उनका फ्यानले विशेष स्वागत गरे। मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यान वि लभ मिरुना लेखेको पोस्टर लिएर उनलाई भेट्न आएका थिए। मिरुनाले धरानको स्टेजबाट ‘म धरानकी चेली’ भनिरहँदा धरानवासीले ठूलो स्वरमा हुटिङ गरेका थिए। गायक प्रताप दास र प्रज्ञा श्रेष्ठले रोजको फूल हैन बोलको गीत गाउँदा दर्शक मज्जैले नाचेका थिए। हास्यकलाकार दिनेश काफ्ले र सन्ध्या थापाले सञ्चालन गरिरहेको कन्सर्ट कार्यक्रमका लागि रोज टिम सोमबार झापा पुगेको छ। झापाको दमक र बिर्तामोडमा कन्सर्ट सकेलगत्तै मोफसलको कन्सर्ट सकिने फिल्मका निर्माण नियन्त्रक बुद्धिलाल मगरले जानकारी गराएका छन्। उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्देशन गरेको फिल्म आगामी भदौ २२ गते अल नेपाल रिलिज हुँदैछ।