मलेसिया पनि गौरा पर्व मनाईयो

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
रोजगारीको लागी मलेसियामा रहेका सुदूरपश्चिमेली नागरिकले आज गौरापर्व धुमधामका साथ मनाएका छन् ।
केहीबर्षदेखि निरन्तर रुपमा मनाउदै आएका सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि गौरा पर्व धुमधामका साथ सम्पन्न गरेको हो ।
मलेसियाको जोहोर बारु स्थित होटल श्री मलेसियाको सभाहलमा एक भव्य कार्यक्रमकाबीच गौरा पर्व सम्पन्न त्यहाँवाट प्रकाशदेव भट्टले जानकारी दिए । सुप नेपाली समाज मलेसियाको केन्द्रीय कमिटि र जोहोर राज्य समितिको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा नेपालबाट आएका डेउडा सम्राट नन्दकृष्ण जोशीसंगै दर्जनौ स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रमको उदघाटन् गौरादेवीको पूजाआराधना गरी सुरुवात गरिएको थियो । सुदूरपश्चिमका चेलीहरुले चलनचल्तीमा रहेको रीति अनुसार गौरादेवीको डालो शीरमा राख्दै भित्र्याएका थिए भने त्यसमा सम्पूर्ण नेपाली दाजुभाइहरुले गौरा गीत गाउँदै गौरा भित्र्याउनमा साथ दिएका थिए । दिनभरी चलेको कार्यक्रम डेउडामय बनेको थियो ।
समाजका केन्द्रीय अध्यक्ष समिर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा सुप सेवा समाजका सल्लाहकार एवम् नेपाली राजदूतावासका एडमिन कर्मचारी टेकबहादुर बुढा विशिष्ट अतिथि रहेका थिए । यसैगरी, विशिष्ट अतिथिमा नेपाली समाजका दक्षिण एसिया संयोजक ज्ञानेन्द्र सिंह, एनआरएनए मलेसियाका कार्यबाहक अध्यक्ष तथा समाजका सल्लाहकार टेकराज धिक्त, एनआरएनए सिंगापुरका प्रतिनिधि विश्व गिरी, नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डेउडा सम्राट नन्दकृष्ण जोशीले विदेशमा पनि सुदूरपश्चिमको कला, संस्कृति जोगाउने उद्देश्यले गौरा पर्व मनाएको देख्दा निकै खुशी लागेको बताए ।
कार्यक्रममा विदेशमा बसेर नेपाली र नेपाललाई चिनाउन सफल भएका कलाकार, खेलाडी, समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।