विराटनगरको ऐतिहासिक रथयात्राको ५१ औं संस्करण सम्पन्न

0
Shares

५ लाख बढी श्रद्धालु र दर्शनार्थीहरुले रथायात्रामा सहभागिता

सरोज यादव, विराटनगर         ।
विराटनगरको ऐतिहासिक रथयात्राको ५१ औं संस्करण सम्पन्न भएको छ । विगतका बर्षहरुभन्दा यसपटकको रथयात्रामा उल्लेख्य श्रद्धालुले सहभागिता जनाएका छन । प्रदेश एकका मुख्यमन्त्री शेरधनलाई पुजापाठपछि बेलुन उडाएर रथयात्राको शुभारम्भ गर्नुभएको थियो । अपरान्ह ४ बजे विराटनगर १ स्थित श्रीराधाकृष्ण मन्दिरबाट निस्किएको रथ झण्डै ७ किलोमिटरको परिक्रमा पछि फेरी मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

रथयात्राको उदघाटन सत्रमा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे,बनमन्त्री जगदीश कुशियैत,सांसद केदार कार्की,विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली,उपप्रमुख इन्दीरा कार्की लगायतको सहभागिता थियो । रथयात्रामा यसपटक विभिन्न जातिय समुदाय र भजन मण्डली समेत गरेर ६८ वटा झाँकी आयोजकहरुले सहभागिता जनाएका छन ।

उदघाटन सत्रमा बोल्नुहुंदै मुख्यमन्त्री राईले जातिय, सांस्कृतिक तथा धार्मिक विविधता देश र प्रदेशको सम्पति भएको उल्लेख गर्नुहुंदै त्यसलाई जोगाउनुपर्ने उल्लेख गर्नुभयो । गएकोबर्ष बाढीका कारण अस्तब्यस्त भएका कारण आयोजकको अपेक्षाभन्दा कम सहभागिता रहेपनि यसबर्ष ५ लाख बढी श्रद्धालु र दर्शनार्थीहरुले रथायात्रामा सहभागिता जनाएको आयोजकले जनाएको छ । रथयात्रामा भीडभाड बढी हुने भएपछि यसपटक ड्रोन क्यामराबाट रथ हिड्ने मार्गमा सुरक्षा निगरानी गरिएको थियो । श्रद्धालु तथा भक्तजनको अपार सहभागिता भएपनि रथयात्रालाई ब्यस्थितगर्न आयोजक समिति सफल भएको मारवाडी युवा मञ्चका सन्दिप डाबरले बताउनुभयो ।

रथयात्रालाई सफलता पूर्वक सम्पन्नगर्न गठन गरिएको विभिन्न १९ वटा उपसमितिका साथै विभिन्न धार्मिक संघसंस्थाका स्वयंसेवीहरु रथयात्रालाई सफल बनाउन खटिएका थिए । रथपरिक्रमाको बाटोभरि नगरवासीहरुले आगन्तुक श्रद्धालुकालागि स्वतस्फुर्तरुपमा पिउने चिसो पानी र सर्बतको ब्यवस्थापन गरेका थिए । आयोजक समितिको अथक परिश्रम र आम नगरबासीको साथसहयोग पाएपछि रथयात्राको एकाउन्नौं संस्करण सफलता पुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।