केयूका रजिष्टार भोला थापाको राजीनामा स्वीकृत

0
Shares

काभ्रे ।
काठमाडौ विश्व विद्यालय (केयू) का रजिष्टार डा. भोला थापाले यहि भाद्र ७ गते उपकुलपति प्रा.डा. रामकष्ठ माकजु समक्ष दिनुभएको राजीनामा आइतबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गर्नुभएको स्रोतले जनाएकोछ ।
भाद्र ७ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद् बैठकमै उपकुलपति माकजु र रजिष्टार थापाबीच असमझदारीको स्थिति सृजना भए लगत्तै थापाले राजीनामा दिएर बाहिरिनुभएको थियो ।

कानून संकायका डीन डा.विपिन अधिकारीको प्रोफेसरमा बढुवा गर्ने बिषय रजिष्टार.थापाले अघि सार्नुभएको र उपकुलपति माकजुले प्रकृया पुरा भै नसकेको भने लगत्तै उहाँहरुबीच असमझदारीको स्थिति सृजना भएको थियो । कानून संकायको डीनका लागि आवेदन खुल्ला गरिएकोमा डा.विपिनको मात्र परेको र उहाँलाई नै उक्त पदमा नियुक्त गर्न प्रकृया नपुगेको भनी रोकिएको थियो ।
डा.माकजुले उपकुलपतिको दोस्रो कार्यकाल सम्हाल्नुभएको हो भने रजिष्टार थापा पनि दोस्रो कार्यकालका लागि एकबर्ष अघि उपकुलपति डा. माकजूकै सिफारिसमा रजिष्टार नियुक्त हुनुभएको हो । पछिल्लो समय देखा परेको भनाभनको स्थिति पूर्व योजना अनुरुप नभै तत्कालीन भएको स्रोतको दाबी छ ।

डा.थापाले दिनुभएको राजीनामा स्वीकृतिका लागि प्रकृयामा अघि बढाउन ७ गते नै कुलपति तथा प्रधानमन्त्री समक्ष पेश गरिएको थियो । बिमस्टेक सम्मेलनका कारण राजीनामा स्वीकृतिमा ढिलाई भएको स्रोतले जनाएको छ । राजीनामा दिएपछि स्वीकृति हुने पक्का भएकाले डा. थापाले पनि आफुले राजीनामा दिए लगत्तै काठमाडौ विश्वविद्यालय कार्यकारी परिषद्मा रहेका सबै पदाधिकारीहरुलाई आफु रजिष्टार रहुन्जेल सहयोग पुर्याउनुभएकोमा इमेल मार्फत धन्यवाद दिनुभएको थियो । यस बीचमा डा.थापा केयूमा आएर पनि आफ्नो राजीनामा स्वीकृत नभए सम्म आफुले सम्हाल्दै आएका जिम्मेवारी सम्हाल्नु भएको स्रोतले जनाएको छ ।

नयाँ रजिष्टार ल्याउने सन्दर्भमा विश्व विद्यालय भित्रैका सिनियर डीनबाट छनोट गर्न आन्तरिक छलफल शुरु भैसकेको बुझिएको छ । यसै बिषयमा छलफलका लागि उपकुलपति र कुलपतिको छिटैनै भेटघाटको समय तय भैसकेको पनि स्रोतले जनाएको छ ।