मेलमिलाप सम्बन्धी आधारभुत तालिम

0
Shares

धनवीर दाहाल, रुकुम ।

जिल्लाको मुसीकोट नगरपालिकामा वडा स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने उद्देश्यले सञ्चालित मेलमिलाप सम्बन्धी आधारभुत तालिमको समापन गरिएको छ । गत भदौ ११ गतेदेखि मुसीकोट खलंगामा रहेको होटेल शिसीर बसन्त भ्युमा सञ्चालित तालिमको सोमबार समापन गरिएको हो । ४८ घण्टे मेलमिलाप सम्बन्धी आधारभुत तालिम मुसीकोट नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण विकास तथा सामाजिक सुधार केन्द्रको आयोजनामा सम्पन्न भएको हो । तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग लगाएतका विषयमा सिकाइएको थियो ।

तालिममा १४ वडाबाट २८ जना र कानुन व्यवसायी, बुद्धिजिवि लगायत गरेर ३५ जनाको सहभागीता रहेको थियो । तालिमको सहजिकरण सामुदायिक मेलमिलापकर्ता समाज नेपाल ललितपुरका मेलमिलापकर्ता नयनभक्त श्रेष्ठले गर्नुभएको थियो । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा जिल्ला अदालत रुकुम पश्चिमका श्रेष्तेदार तेजप्रसाद पौडेल, मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावल, बिभिन्न मिडियामा आबद्ध पत्रकारहरु लगायतको आतिथ्यता रहेको थियो । मुसीकोट नगरपालिकाकी उप–प्रमुख तथा न्यायिक समिति संयोजक प्रेमकुमारी सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नगरपालिकाका कानुन अधिकृत ललित बुढाले गर्नुभएको थियो ।