काँकडभिट्टा नाका नक्कली सुन र नोटको ‘ट्राञ्जिट’

0
Shares

भद्रपुर ।
पूर्वी झापाको काँकडभिट्टा नाका वर्षौ यता सुख्खा सुपारीको ‘ट्राञ्जिट’ क्षेत्रले परिचित छ । यी नाकाबाट सुपारीसँगै ,लत्ताकपडा, गाईगोरु, मरिच, लागूऔषध, मानवतस्करीका घटनाहरु प्रशस्तै हुदै आएका छन् । तर,पछिल्लो समय सुपारीको कारोबारमा गिरावट आएपछि सो क्षेत्रको आसपासमा नक्कली नोट र सुनको कारोबार फस्टाउन थालेको छ । काँकडभिट्टासँग सीमा जोडिएको भारतको पश्चिम बङ्गाल सीमावर्ती बजार क्षेत्रमा यस्ताखाले कारोबारसँगै विभिन्न आपराधिक घटनाहरू बढ्न थालेको केही घटनाक्रमले पुष्टि गरेको छ ।
पश्चिम बङ्गालको पानीटङ्की र नक्सलबाडीका बजार क्षेत्रमा बढेको विभिन्न आपराधिक गतिविधिले नेपालका सीमासुरक्षार्थ प्रहरीलाइ शकस भएको छ ।

काँकडभिट्टा नाकादेखि ७ किलोमिटर उत्तरमा रहेको भारत नक्सलबाडी बजार क्षेत्रबाट भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ४१ बटालियनले बिस्कुट आकारको १सय२५ पिस नक्कली सुनसहित शुक्रबार दुइजनालाइ पक्राउ गर्यो । प्रहरीले दार्जिलिङ्का दिलीप गुरुङ् र सेरिङ् भुटियालाई सुनसहित पक्राउ गरेको नक्सबाडी प्रहरीलाइ उद्धृत् गर्दै भारतीय सञ्चारमाध्यामले जनाएको छ । उनीहरूलाई विशेष सूचनाको आधारमा नक्सलबाडी रथखोला क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ । सुन नेपालबाट भित्र्र्याएको प्रहरीले आश
ङ्का गरेको छ ।
केही दिनअघि नेपाली एक हजार दरका आठ सय थान अर्थात आठ लाख नेपाली नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो । एसएसबीले नक्सलबाडीका मनोज आचार्यलाई आठलाख नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानको क्रममा आचार्यले उक्त परिणामका नेपाली नक्कली नोट काकँडभिट्टाबाट नेपाल भित्र्र्याउने योजनामा रहेको खुलेको थियो । चालु आर्थिक वर्षको साउन २९ मा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ५० हजार नक्कली नेपाली नोटसहित दुइजना कारोबारीलाइ समात्यो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भारत पश्चिम बंङ्गाल राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढीका ४० वर्षीय शतीश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाललाई ५० हजार नेपाली नक्कली नोटसहित पक्राउ गरेको थियो । उनीहरूले धुलावारी बजारबाट नेपाली नोट बोकेर भारतीय रुपैयाँमा साट्न काँकडभिट्टामा घुमिरहेका थिए । प्रहरीले सतिसको साथबाट एक हजार दरको ३३ थान र हितेसको साथबाट १७ थान गरी नेपाली ५० हजार रुपैयाँ नक्कली नोट फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका थिए । यस्ता घटनाले पछिल्लो समय दुवै देशका सुरक्षाकर्मीलाई चुनौती देखिएको छ । कारोबारीले आफना धन्दा परिवर्तन गरेपछि प्रहरी चकित बनेको छ । अन्य समयको तुलनामा भन्दा आउदै गरेको चाडपर्वलाइ समेत ध्यानमा राखेर सुरक्षा व्यवस्था मजबुद पारिएको झापा प्रहरी एसपी भिमप्रसाद ढकालले बताए । सीमा क्षेत्रको १ सय १८ किलोमिटर क्षेत्रपूर्ण सुरक्षाको निगरानीमा राखिएको एसपी ढकाल बताउँछन् । सुरक्षाको लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको उनले जनाए ।

नक्कली नोटको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए तर, नक्कली सुनको विषयमा कुनै जानकारीमा नआएको उनको भनाइ छ । नेपाल प्रहरीलाइ भारतीय प्रहरीले सोधपुछ नगरेका कारण यो विषयमा केही भन्न नमिल्ने उनले जनाए । केही महिना अघि भारतबाट नै नेपाल ल्याउदै गरेको दुइकिलो सुन चै बरामद गरेर मुद्दा चेलेको हो तर, पछिल्लो घटनामा भारत प्रहरीले भारतीयलाइ नै पक्राउ गरेकोले उसले गरेका सवै काम जानकारी लिन जरुरी नभएको उनले भने । तर पनि सीमा क्षेत्रमा यस्ता प्रकारका नक्कली सामानको कारोबार हुने रहेछ भन्ने प्रहरीलाइ जानकारी भयो, अब थप प्रहरी शसक्त ढङ्गले लाग्ने उनले जनाए ।

काँकडभिट्टा–पानीट्ङ्की सीमावर्ती क्षेत्रमा तस्करीसहित अपराधिक क्रियाकलाप ह्वात्तै बढेपछि नेपाल–भारतका सुरक्षा निकाय तथा भन्सार अधिकारीको छलफल भएको छ भारतको पानीट्ङ्कीस्थित सशस्त्र सीमा सुरक्षा वल (एसएसबी) ले भेटघाट कार्यक्रममा दुवै देशका सुरक्षा तथा भन्सार अधिकारीले अपराधिक तथा तस्करी गतिविधि रोकथाम तथा नियन्त्रणका लागि आ—आफ्नो निकायबाट सहयोग पुर्याउने बारेमा सहमति जनाएको बुझिएको छ । भन्सारबाट निकासी पैठारी हुने वस्तुहरूमा सहज बनाउने विषयमा छलफल गरिएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए । सीमा क्षेत्रमा भएपछि सवै कुराहरु आदन–प्रदान हुन जरुरी रहेकोले यस्ता भेटघाट र छलफल समय समयमा भइरहने प्रमुख भन्सार अधिकृत अर्यालले बताए ।

छलफलमा प्रमुख भन्सार अधिकृत अर्याल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी महेश थापा, सशस्त्र प्रहरी बल भन्सार गुल्मका डिएसपी राजेश घिमिरे र भारतीय पक्षबाट एसएसबी एडीजी ज्योतिमय चक्रवर्ती, कमान्डर राजीव राना, भन्सार प्रहरी इन्स्पेक्टर रीना लगायतको उपस्थिति रहेको थियो । केही दिन अघि भद्रपुरको सीमा क्षेत्र भारतको गलगलिया स्थित भातगाउँमा समेत जिल्लाका एसपी ढकाल र सशस्त्रका रेशम कुमार थाक्सू साथै भारतीय प्रहरी अधिकारीसँग छलफल भएको थियो ।