प्रतिनिधिसभामा पहिलोपटक प्रश्न उत्तर सुरु

0
Shares

गंगा बराल, काठमाडौं ।
प्रतिनिधिसभामा सोमबारदेखि सांसद् र मन्त्रीको प्रश्न उत्तर सुरु भएको छ । संसद्मा यसपालि यो व्यवस्था पहिलोपटक सुरु भएको हो । प्रतिनिधिसभा नियमावली , २०७५ को परिच्छेद ८ मा भएको व्यवस्था अनुसार प्रश्नोत्तर विधि सुरु भएको सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रश्नको जवाफ मन्त्रीले तत्काल दिनुपर्ने छ र मन्त्रीको जवाफ चित्त नबुझे त्यससँग सम्बन्धी प्रश्न अरु सांसदले पनि गर्न पाउने छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद् संजयकुमार गौतमले पहिलोपटक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेललाई प्रश्न गर्नुभएको छ । मन्त्री पोखरेलले गौतमको प्रश्नको जवाफ दिनुभएको थियो । गौतमले चालु आर्थिक वर्षको वजेट वक्तव्यको बूँदा नम्बर ४९ मा आर्थिक रुपमा बिपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च, प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि ५ प्रतिशत व्याज अनुदानमा शैक्षिक कर्जा उपलव्ध गराउने भनिएकोमा सो कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक प्रबन्ध कहिलेसम्म मिलाउँछ भनी प्रश्न गर्नुभएको छ । मन्त्री पोखरेलले गौतमको प्रश्नको जवाफ दिनुभएको थियो । त्यसपछि राजेन्द्रकुमार केसी, तेजुलाल चौधरी, बिरोध खतिवडा, पे्रम सुवालले पूरक प्रश्न गरेका थिए ।

मन्त्रालयगत प्रश्न गर्नका लागि सांसद्लाई दिन छुट्याइएको छ । प्रतिनिधिसभाले तयार पारेको कार्यतालिका अनुसार आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सोमबार रक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, उर्जा, जलश्रोत तथा सिँचाई र भौतिक, पूर्वाधार तथा यातायात, मंगलबार स्वाथ्य तथा जनसंख्या, कानुन , न्याया तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका विभिन्न प्रश्नमा सांसद्ले प्रश्न गर्न पाउने छन् । त्यस्तै बुधबार गृह, कृषि तथा पशुपंक्षी बिकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बन तथा वातावरण र अर्थ, बिहीबार परराष्ट्र, शहरी बिकास, संस्कृति , पर्यटन तथा नागरिक उड्डयन र यूवा तथा खेलकुद र शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सञ्चार तथा सूचना प्रविधि, खानेपानी र भूमी, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको लागि समय छुट्याइएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय रहेका छन् ।

प्रधानमन्त्रीसँग पनि महिनामा २ दिन प्रश्न उत्तर गर्ने प्रतिनिधिसभा नियमावली , २०७५ मा उल्लेख छ तर यो व्यवस्था सुरु भएको छैन ।