कलागाउँको कलामा मूर्तिको शिलालेख

0
Shares

हेटौंडा, (नेस) ।
२०६९ सालमा ७ देशका २३ कलाकारले १५ दिन लगाएर सिर्जना गरेका मूर्तिकलालाई संरक्षण गरी मूर्तिकलाको म्युजियम बनाइएको क्षेत्र हर्नामाडी कला प्रतिष्ठान, हेटौंडा–१८, गुम्बाडाँडामा रहेका सम्पूर्ण मूर्तिको शिलालेख तयार हुने भएको छ।
पर्यावरणीयरूपमा सुन्दर क्षेत्रलाई विविध कलात्मक सौन्दर्यले सुसम्पन्न कलागाउँका रूपमा परिचित गराउने उद्देश्यले सम्भवतः जिल्लामा पहिलोपटक कला कार्यशाला आयोजना गरिएको थियो। हर्नामाडी कला प्रतिष्ठानले नेपालमा पहिलो अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गरेर गुम्बाडाँडामा मूर्तिकला पार्कलाई आधुनिक मूर्तिकला बगैंचा मात्र होइन, अन्य कलाकृतिले सुसज्जित पारेर मकवानपुरलाई आर्ट भिलेजका रूपमा परिचित गराउन कार्यशाला गरेको हो। कार्यशालामा नेपालका चर्चित चित्रकारहरू शशिविक्रम शाह, कृष्ण मानन्धर, वत्सगोपाल वैद्य, शशिकला तिवारी र किरण मानन्धरलगायतको सहभागिता थियो। प्रतिष्ठान अध्यक्ष हर्क रम्तेलले त्यहाँ पार्कलाई थप विकास गरिने, ललितकलाका विविध विषयमा अध्ययन तथा अनुसन्धान गर्ने स्थल बनाइने, भावी पुस्ताका लागि कला नमुनाको धरोहर निर्माणमा योगदान पु¥याउने तथा कलाका अनुरागीका लागि एक खुला वैभव र मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने खालका कलात्मक साझास्थल निर्माण गर्ने लक्ष्य लिइएको बताए। उक्त क्षेत्रमा तयारी कलाकृतिहरू एक विशेष संग्रहालयका रूपमा संरक्षित गरिने भएकाले यस क्षेत्र सौन्दर्य, सांस्कृतिक वैभव, कला अध्ययन÷अनुसन्धानस्थल बनेर जिल्लाको आर्थिक उन्नतिमा टेवा पु¥याउने विश्वास उनको छ।
कार्यशालाले मूर्तिकला म्युजियमलाई थप विकाससहित गुम्बाडाँडालाई कलात्मक सिर्जनाग्रामका रूपमा विकास गरेर कलाकार, अन्वेषक तथा सिर्जनशील व्यक्तित्वलाई विशिष्ट सिर्जनात्मक कार्यका लागि त्यहाँ बास बस्न अभिप्रेरित गरेको अध्यक्ष रम्तेलले बताए। उक्त क्षेत्रमा हेटौंडासम्म साइक्लिङ ट्र्याक, नजिकको खोलामा बोटिङ, अर्किड अनुसन्धान केन्द्रसहित बर्सेनि विशेष कला महोत्सव आयोजना गर्ने लक्ष्य प्रतिष्ठानले लिएको छ। २०६९ मंसिर ११ देखि २६ गतेसम्म अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला र २०७३ असोज १ देखि ५ सम्म अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला गरिएको उक्त स्थानमा जापानी कलाकारले नेपालमा पहिलोपटक धानखेतमा स्टलेसन आर्ट गरेका थिए। उक्त स्थानमा आगामी फागुन÷चैततिर कम्तीमा ५० देशका कलाकारको सहभागितामा विश्व काष्ठ दिवस मनाउने योजना रहेको अध्यक्ष रम्तेलले बताए।