विम्बल्डन च्याम्पियन पराजित


न्युयोर्क, (एजेन्सी)
विम्बल्डनको महिला सिंगल्स च्याम्पियन एन्जेलिक केर्बर न्युयोर्कमा जारी युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् ।

शनिबार भएको तेस्रो चरणको खेलमा डोमिनीका सिबुल्कोभाले जर्मन खेलाडी केर्बरलाई ३–६, ६–३, ६–३ ले पराजित गरेकी हुन् । केर्बरले पहिलो सेटमा तीन सर्भिस ब्रेकसँगै जितिन् तर स्लोभाकियाकी सिबुल्कोभाले दोस्रो सेट हात पार्दै खेल निर्णायक सेटसम्म खिँचिन् । जसमा केर्बरको दुई सर्भिस ब्रेक भएपछि सिबुल्कोभाले बाजी मारिन् ।

यो नतिजासँगै महिला सिंगल्सतर्फ यस वर्ष ग्रान्डस्लाम जित्नेहरु यो प्रतियोगितामा बाहिरिएका छन् । यसअघि अस्टे«लियन ओपन च्याम्पियन कारोलिन वजनीयाकी दोस्रो र फ्रेन्च ओपन च्याम्पियन सिमोना हालेप पहिलो चरणबाट विदा भएका थिए ।

गत वर्षकी रनर अप अमेरिकाकी मेडिसीन कीज पहिलो सेट गुमाए पनि पछिका सेट जित्दै अन्तिम १६ मा पुगेकी छिन् । उनले सर्बियाकी एलेक्सान्ड्रा क्रुनीकलाई ४–६, ६–१, ६–२ ले हराएकी थिइन् । तर छैटो वरियताकी कारोलीन गार्सियाले भने पहिलो सेट जितेर पनि खेल गुमाइन् ।

फ्रेन्च खेलाडीलाई स्पेनकी कार्ला स्वारेज नभारोले ५–७, ६–४, ७–६ को तीन सेटमा पराजित गरेकी थिइन् । पूर्व च्याम्पियन मारिया सारापोभा पनि अन्तिम १६ मा प्रवेश गरिन् । उनले लात्भियाकी यलेना ओस्टापेन्कोलाई ६–३, ६–२ ले पन्छाएर कार्लासँग खेल्ने पक्का गरेकी छिन् ।
क्याप्सनः सिबुल्कोभा जितपछि ।