मलेसियाको गौरा पर्व कार्यक्रममा देउडा गायक नन्दकृष्ण

0
Shares

सुदूरपश्चिम समाज मलेसियाले मलेसियाको क्वालालाम्पुरमा गौरा पर्व विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। जसमा भाग लिनका लागि देउडा गायक नन्दकृष्ण जोशी मलेसिया पुगेका छन्।

गौरा पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा मलेसियावासी, सुदूरपश्चिमेलीमा सांस्कृतिक मोह जगाउनका लागि आफू कार्यक्रममा सहभागी हुन लागेको जोशीले बताए। ‘मलेसियामा गौरा पर्वका दिन (सोमबार) बिदा नहुने भएकाले गौरा पर्वको अघिल्लो दिन (आइतबार) नै हामी देउडा गाएर र खेलेर गौरा पर्व मनाउनेछौं र त्यहाँ गौरा माताको पूजाआजा हुनेछ। धेरै सुदूरपश्चिमेलीको बसोवास रहेको मलेसियामा गएर देउडा गाउँदा गौरा पर्व र संस्कृति विदेशमा फैलिने र संस्कृतिप्रतिको मोह बढ्ने हुनाले म निकै उत्साहित छु’ –उनले भने।

२०३४ सालदेखि देउडा सक्रिय रहँदै आएका जोशीका हालसम्म २० देउडा गीतका एल्बम बजारमा आइसकेका छन्। उनी रेडियो नेपालका प्रतिष्ठित श्रेणीको देउडा गायक हुन्। देउडा गाएर गोरखा दक्षिणबाहु विभूषण पाउने उनी पहिलो गायक हुन् भने उनले पूर्वराष्ट्रपति रामवरण यादवबाट जनसेवाश्री पदवी पनि पाएका छन्। सम्मान र पुरस्कारले आफूमा अझ बढी जिम्मेवारी र हौसला थप्ने काम गरेको जोशीले बताए।