नेपालद्वारा मलेसिया पराजित, छनोट आशा जीवितै


काठमाडौं । नेपालले एसिया कप छनोटमा पहिलो जित हात पारेको छ ।

शनिबार मलेसियाको एक रंगशालामा भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । मलेसियाका लागि अनवार अरुदिन र सहेद अजिजले समान ३४ रन बनाए । त्यस्तै अहमद फेचले २२ तथा विरनदिप सिंहले २१ रन बनाए ।

मलेसियाको ब्याटिङ लाइनअप सखाप पार्ने क्रममा नेपालका बसन्त रेग्मीले सर्धाधिक ३ विकेट लिए ।  सोमपाल कामी र सन्दीप लामिछाने समान २-२ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र सागर पुनले पनि समान १-१ विकेट हात पारे । पानी परेपछि खेल ३० ओभरमा झारिएको थियो ।

यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा १८८ रन बनाएको थियो ।  नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४८ बलमा ६४ रन बनाए भने ऐरीले ५१ बलमा ५४ रन बनाए । त्यस्तै अनिल शाहले १६, कप्तान पारस खड्का १३ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

मलेसियाका लागि स्यारुल र स्भाभिनले समान ३-३ विकेट लिए ।

लगातार दुई खेल गुमाएको नेपालले मलेसियालाई हराएपछि एसिया कपमा छनोट हुने सम्भावना जीवितै छ । जसका लागि नेपालले बाँकी खेलमा शतप्रतिशत नतिजा निकाल्दै अन्य देशको खेल प्रदर्शनमा भर पर्नुपर्छ ।