वजनीयाकी पराजित


न्युयोर्क, (एजेन्सी)
अस्टे«लियन ओपन विजेता कारोलीन वजनीयाकी युएस ओपनअन्तर्गत दोस्रो चरणबाट बाहिरिएकी छन् ।
युक्रेनकी लेसीया टीसुरेन्कोले डेनिस खेलाडीलाई ६–४, ६–२ ले हराएकी हुन् । योसँगै वर्षको अन्तिम ग्रान्डस्लामबाट दुई शीर्ष खेलाडी पराजित भएका छन् । यसअघि विश्व नम्बर एक महिला खेलाडी सिमोना हालेप पहिलो चरणबाट बाहिरिएकी थिइन् ।

विम्बल्डन विजेता एन्जेलिक केर्बर भने संभावित हारलाई टार्दै तेस्रो चरणमा पुगिन् । उनले स्विडेनकी योहाना लार्सनलाई ६–२, ५–७, ६–४ ले पन्छाएकी थिइन् । उनको सामना स्लोभाकियाकी डोमिनिका सिबुल्कोभासँग हुनेछ । सिबुल्कोभाले कोर्टमा ढिलो फर्केर दुई अंक गुमाउन पुगे पनि ताइवानकी हसीह सु वेईलाई ७–६, ४–६, ६–४ ले पराजित गर्न सफल भइन् । न्युयोर्कमा चर्को तापमानको कारण खेलाडीलाई १० मिनेटको हिट ब्रेक दिइएको छ ।

पुरुष सिंगल्सतर्फ रोजर फेडेररले दोस्रो चरण सहजै पार गरेका थिए । कीर्तिमानी छैटो युएस ओपन जित्नेतिर अग्रसर रहेका फेडेररले फ्रान्सका बेनोइट पाइरेलाई ७–५, ६–४, ६–४ ले हराएका थिए । पाइरेसँग यो स्विस खेलाडीको छैटो भेट थियो र अहिलेसम्म उनीसँग हारेका छैनन् । फेडेररले तेस्रो चरणमा अस्टे«लियाका निक किर्गियोससँग खेल्नेछन् ।

पुरुष सिंगल्सतर्फ वर्चश्व बनाएका फेडेररले युएस ओपनमा २००४ र २००८ बीच लगातार पाँच पटक उपाधि जितेका थिए । २००९ मा उनी अर्जेन्टिनाका हुआन मार्टिन डेल पोट्रोसँग हारेका थिए । यसपछि नोभाक जोकोभिचसँग सन् २०१५ मा उनी पराजित भए । अहिले उनी युएस ओपनमा पुन धाक जमाउने लक्ष्यमा रहेको बताउँछन् ।