विमल पोद्दारसहित ५ जना जेल चलान

0
Shares

काठमाडौं ।  विमानस्थलबाट भएको संगठित सुन तस्करीको मुद्दामा थप ५ जना जेल चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार विमल पोद्दारसहित ५ व्यवसायीलाई जेल चलानको आदेश दिएको हो।

अदालतले पोद्दार, सैयद अकबर शाह, राजु दारुका, इम्तियाज उद्दिन र अबु खानलाई जेल चलान गरेको हो। कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उनीहरुलाई पुर्पक्षमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।

उनीहरुसँगै ग्रिनलाइन होलिडे ट्राभलका सञ्चालकद्वय बालकृष्ण खडका र ठाकुर प्रसाद ढुंगानाविरुद्ध मुद्दा दायर भएको छ।  उनीहरुलाई अदालतमा उपस्थित हुन अदालतले हदम्याद जारी गरेको छ।
गिरोहका एक नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपनि अर्का नाइके मोहन अग्रवाल पक्राउ परेका छैनन्। अग्रवालको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भइसकेको छ।

 सो प्रकरणमा फरार रहेका रमेश उप्रेती र बेनु श्रेष्ठ दुबईमा ‘लोकेट’ भइसकेका छन्। उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ। शाक्यको हत्याको अनुसन्धानमा प्रहरीले गरेको लापरबाहीमाथि गृहले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बिशेष अनुसन्धान टोली गठन गरेको थियो।

टोलीले गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइसकेको छ। तर, प्रतिवेदन कार्यान्वायन अघि बढेको छैन। टोलीले थप ३ सय भन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।