काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन बिहीबार दिउँसो साढे ३ बजे उद्घाटन हुने कार्यक्रम छ ।
अध्यक्षको हैसियतमा शिखर सम्मेलन आयोजक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनको कार्यसूचीअनुसार भोलि (शुक्रबार) पौने २ बजे सम्मेलनको समापन हुनेछ । तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन हुनुभन्दा पौने तीन घण्टा अगाडि नै स्वदेश फर्किने भएकी छन् । उनी शुक्रबार बिहान ११ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयको कार्यसूचीमा उल्लेख छ ।
उनी सम्मेलन नसकिँदै स्वदेश फर्किनुको कारण बंगलादेशको आन्तरिक राजनीतिलाई देखाइएको छ । बंगलादेशमा यो वर्ष आम निर्वाचन हुँदैछ । निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा त्यहाँ सरकार विरोधी प्रदर्शनहरू चर्किएका छन् । फोटो पत्रकार शाहिदुल आलमको पक्राउको विरोधमा केही सातादेखि त्यहाँ विद्यार्थीहरूले सरकारविरुद्ध आन्दोलन चर्काएका छन् । अर्कोतर्फ प्रतिपक्षी दल बंगलादेशी नेस्नालिस्ट पार्टीकी अध्यक्ष खालिदा जियालाई पक्राउ गरि हिरासतमा राखिएको विरोधमा पनि त्यहाँ आन्दोलन चर्किरहेको छ ।
सरकार निरंकुश बन्दै गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेकोले प्रधानमन्त्री शेख हसिना दबावमा छिन् । देशभित्र सरकारविरुद्ध चर्किएका असन्तोषका आवाजलाई मत्थर पारी निर्वाचन गराउन उनलाई दबाव छ । तर सरकारले विपक्षीहरूलाई गैरकानुनी तवरबाट पक्राउ गर्ने र जेल हाल्ने काम गरेको, प्रेस स्वतन्त्रता हनन गरेको र नागरिक अधिकार कटौती गरेको भन्दै प्रधानमन्त्री हसिनाको आलोचना भइरहेको छ ।
प्रधानमन्त्री हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिम्स्टेक शिखर सम्मेलनकै क्रममा साइडलाइन वार्ता गर्ने जनाइएको छ । जसलाई बंगलादेशमा हुने निर्वाचनसँग जोडेर पनि हेरिएको छ । बंगलादेशको प्रमुख पत्रिका डेलीस्टारका अनुसार उनीहरूबीच बिहीबार साँझ पौने ७ बजे हुने वार्ता बंगलादेशमा डिसेम्बरमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण हुनेछ ।











प्रतिक्रिया