ओमानसँग नेपाल ७ विकेटले पराजित


नेपाल समाचारपत्र, काठमाडौं
नेपाली क्रिकेट टोलीले मलेसियामा बुधबारदेखि शुरु भएको एसीसी एसिया कप छनोट चरणको क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गर्न सकेन ।

भर्खरै मात्रै एकदिवसीय (वानडे) अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको नेपाल ओमानसँग ७ विकेट पराजित भएको हो । नेपालले २ सय २२ रनको लक्ष्य दिएकोमा ओमानले ३ विकेट गुमाएर ९ बल बाँकी राखी जित हात पा¥यो । यो हारसँगै नेपालको लागि प्रतियोगिता जित्न कठिन हुने देखिएको छ । प्रतियोगितामा हङकङ, युएई जस्ता बलिया टोली रहेका छन् । नेपालले आजै दोस्रो खेलमा युएईको सामना गर्नेछ ।

ओमानका खवार अलीले ८४ रनको नटआउट इनिङ खेल्नु नै नेपालले हार बेहोर्न बाध्य भएको हो । त्यस्तै जिसान मकसुड ४५ रनमा नटआउट रहे । यी दुबैले नेपाली बलरलाई निस्तेज तुल्याउँदै चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेका थिए । साथै ओमानका अन्य ब्याटसम्यानले पनि नेपाली बलरलाई निरास पारेका थिए । जसमा बैभव वाटेगांवकारले ४१ रन जोडे भने जतिन्दर सिंहले ३० रनको योगदान दिएका थिए । बैभव र जतिन्दर दुबै जना रनआउट भएका थिए ।

नेपालको तर्फबाट कप्तान पारस खड्काको भागमा एक विकेट परेको थियो । उनले अकिब इलायस (१६ रन) लाई एलबीडब्ल्यू आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले ७ ओभरमा एक मेडनसहित २४ रन दिएर एक विकेट लिएका थिए । अन्य बलर भने नेपालको लागि सहयोगी बन्न सकेनन् ।

नेपाली बलरमा क्यारिबियन प्रिमियर लिगबाट सीधै मलेसियामा खेल्न आएका सन्दीप लामिछानेले १० ओभर फँयाके पनि विकेट हात पार्न सकेनन् । उनले २७ रन खर्चेका थिए । त्यस्तै नेपालका नम्बर एक तीब्र गतिका बलर सोमपाल कामी पनि ५ ओभरमा २७ रन दिएर विकेटविहीन हुँदै महँगो सावित भए ।

उनलाई पछि बलिङ गर्न जिम्मा दिएन । करण केसी पनि ६ ओभरमा २९ रन दिएर विकेटविहीन भएका थिए । वसन्त रेग्मी पनि ९ ओभरको बलिङमा २ मेडन फयाँके पनि ज्यादै महगो बलर बनेका थिए । उनले ६१ रन दिएका थिए ।
यसअघि क्वालालम्पुरको बायुमास ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतिमा २ सय २१ रनका योगफल बनाएको थियो ।

टोलीका लागि सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिए । उनको टोलीमा पुनरागमनले नेपालको ब्याटिङमा टेवा पुगेको थियो । उनले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । ४ विकेट ८० रनको लागि गुमाएपछि सागर र आरिफले पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपाली ब्याटिङलाई उकासेका थिए ।

यस्तै ओपनरमा रहेका उपकप्तान ज्ञानेन्द्र मल्लले पनि खुलेर खेलेका थिए । उनले ४५ रन जोडे भने अर्का ओपनर सुवास खकुरेलले निरास पारे । उनी मात्र ४ रनमै पवेलियनमा फर्केका थिए । कप्तान पारस ८ रनमा र दिपेन्द्र सिंह ऐरी ९ रनमा आउट हुनाले नेपालको ब्याटिङ कमजोर बनेको थियो । यद्दपि आरिफ शेखले ३६ रन र बलर करण केसीले २६ रन जोडेर नेपाली ब्याटिङलाई टेवा दिएका थिए । यी दुबै सागरका सहयोगी ब्याटसम्यान बनेका थिए । ओमानका बलरमा अजय लालचोटा, मोहम्मद नदीम र विलाल खानले समान २÷२ विकेट हासिल गरेका थिए ।

अन्य खेलको नतिजा
हिजै भएको अन्य खेलमा युएईले सिंगापुरमाथि २ सय १५ रनको फराकिलो जित हासिल ग¥यो । युएईले पहिले ब्याटिङ गर्दै ८ विकेटको नोक्सानमा ३ सय १२ रन जोडेको थियो । टोलीका लागि चिराग सुरीले १ सय ११ रनको सतकीय इनिङ खेलेका थिए । जवाफमा सिंगापुर ९७ रनमा अलआउट भएको थियो ।

सिंगापुरको ब्याटिङ ध्वस्त पार्न युएईका अहमद राजा एक्लैले ६ विकेट लिएका थिए । यस्तै अर्को खेलमा मलेसियाले हङकङलाई ३ विकेटले हराएर आश्चर्यजनक नतिजा निकाल्यो । मलेसियाले हङकङले दिएको १ सय ६२ रनको लक्ष्य ७ विकेट गुमाएर ४३ बल बाँकी राखेर भेटाएको थियो ।