इन्डोनेसियामा नेपालको प्रतिष्ठा जोगियो


काठमाडौं, (नेस)
इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा शून्य उपलब्धितिर अग्रसर भएको नेपाललाई पाराग्लाइडिङले पदक दिलाएपछि राष्ट्रको प्रतिष्ठा जोगेको छ ।

पुरुष क्रस कन्ट्रीको टिम इभेन्टमा नेपाली टोलीले रजत पदक जितेको हो । यो पदकसँगै नेपाललाई राहत मिलेको छ । कराते, तेक्वान्दो जस्ता पदक आउने खेलमा पदक नआएपछि नेपालको लागि इन्डोनेसियामा जारी एसियाली खेलकुद असफल रुपमा परिचित हुन तिर लागेको थियो ।

तर पाराग्लाइडिङले नेपाललाई सो खेलकुद असफल हुनबाट जोगायो । पहिलो पटक एसियाली खेलकुदमा नेपालले सो साहसिक खेलमा सहभागिता जनाएको हो र पहिलो सहभागिमै नेपालले पदक बटुलेको छ ।

यो नेपालको एसियाली खेलकुदको इतिहासमा दोस्रो रजत पदक हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३औं एसियाली खेलकुदमा नेपालले रजत पदक हात पारेको थियो । तेक्वान्दोको महिला स्पर्धामा सबिता राजभण्डारीले नेपाललाई एसियाली खेलकुदमा पहिलो रजत पदक दिलाएकी थिइन् । नेपालले २० वर्षपछि अर्को रजत पदक हासिल गरेको छ।

नेपालको पुरुष क्रस कन्ट्री टोलीमा बिमल अधिकारी, विजय गौतम, शुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् । पाँच चरणको इभेन्टमा पहिलो चरणदेखि नै नेपाली टोलीले पदक जित्ने संकेत गरेको थियो । नेपालले पाँचौं चरणसम्म चलेको खेलमा ३ हजार ३ सय ६४ अंक जोड्यो । नेपाल भन्दा २७ अंक बढी जोडेकोे जापानले ३ हजार ३ सय ९१ अंक जोडेर स्वर्ण पदक हासिल ग¥यो । आयोजक इन्डोनेसियाले तेश्रो स्थानमा रहँदै कांस्य पदकको हकदार बनाएको थियो । सोही स्पर्धाको महिलामा भने नेपालले छैटौं स्थानमा चित्त बुझायो ।

जुडोमा निरासा
एसियाली खेलकुदको लागि भनेर नेपाल जुडो संघले आफना खेलाडीलाई तयारीको रुपमा बैदेसिक प्रशिक्षण दिलाएको थियो । तर बुधबार जुडोको खेल शुरु हुँदा नेपालका दुई खेलाडीको चुनौती समाप्त भएको छ । पुरुष ६६ केजीमुनि अन्तिम ३२ चरणको खेलमा इन्द्रबहादुर श्रेष्ठ नराम्रो सँग हारेका छन् । इन्द्र उत्तरकोरियाका किम ह्योङ अनसँग १०–० को फराकिलो अंकले पराजित भएका थिए । इन्द्रले नेपालमै भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

महिला खेलाडी देविका खड्का पनि इन्द्र झै सोही अंकको अन्तरले हारिन् । महिला ५२ केजी मुनि तौल समूहको प्रिक्वार्टरफाइनल खेलमा देविका जापानकी नातसुमी तिसुनोदासँग पराजित भएकी थिइन् ।

 

टेनिस
एसियाली खेलकुद अन्तर्गत टेनिसतर्फ मिक्स डबल्समा नेपालका नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठ अन्तिम १६ चरणबाट बाहिरिएका छन् । चीनको जोडी गाओ युयान लिन र म्यान वु वाङसँग नविता र स्यान्टुको जोडी ३–१ सेटले पराजित भएको थियो । उनीहरुले तेस्रो सेट जितेको थियो । यसअघि उनीहरुको जोडीले मंगोलियन जोडीलाई हराएको थियो ।

सारापोभा र फेडेरर दोस्रो चरणमा
पाँच पटककी ग्रान्डस्लाम विजेता मारिया सारापोभा र पाँच पटकका विजेता रोजर फेडेरर युएसओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । रुसकी सारापोभाले स्विस खेलाडी पाटी सनाइडरलाई ६–२, ७–६ ले हराइन् ।

३९ वर्षीया सनाइडर प्रतियोगितामा सबैभन्दा पाको उमेरकी खेलाडी हुन् । अर्का ३७ वर्षीया स्विस खेलाडी फेडेररले १ घण्टा ५२ मिनेटमा जापानका योशीहिटो निशीओकालाई पराजित गरेका थिए ।

पदक तालिका
राष्ट्र स्वर्ण रजत कांस्य
१.चीन १०२ ६७ ५० २१९
२.जापान ५२ ४७ ६३ १६२
३.द.कोरिया ३७ ४२ ५० १२९
४.इन्डोनेसिया ३० २२ ३६ ८८
५.इरान १९ १६ १७ ५२
६.ताइपेई १३ १७ २१ ५१
७.उज्बेकिस्तान १२ १७ १६ ४५
८.उ.कोरिया १२ ८ ११ ३१
९.भारत ११ २० २३ ५४
१०.थाइल्यान्ड९ १३ ३६ ५८
११.बहराइन ९ ३ ६ १८
१२.कजाकिस्तान ८ ९ ३४ ५१
१३.भियतनाम ४ १५ १३ ३२
१४.हङकङ, चीन ४ १२ १७ ३३
३२.नेपाल ० १ ० १