कानुन कडाइका साथ लागू गरौं

94
Shares

कानुनलाई पहुँचको आधारमा, राजनीतिक आस्थाको आधारमा, जानेबुझेका वकिलको हातमा अडिएको भन्दै सोझा जनताको पहुँचभन्दा बाहिर भएकोले मुलुकमा थुप्रै समस्या भएको कुरा कहीँ–कतै लुकाउनुपर्ने अवस्था छैन ।

राजनीतिलाई दिगो र स्थायी बनाउने काम नहुनु एउटा समस्या थियो । अहिले राजनीति र सत्ताको चलखेल बन्द भएको छ । कानुन कडाइका साथ आउनुपर्ने थियो, त्यो पनि आएको छ । अब कानुन मिचेर दादागिरी गरी निर्दोष जनताले न्याय नपाउने, करोडौंको काम लिने र काम पूरा नगरेर राज्यको डुकुटी दोहन गर्ने, कानुनलाई पहुँचवालाहरु र पैसावालाहरुले मात्रै परिचालन गर्न सक्छन् भन्ने जस्ता कुराहरु र अन्य सबै खाले गुण्डाराज बन्द गर्नका लागि कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने देखिएको छ ।

नेपालको भाग्य र भविष्य परिवर्तन गर्ने जिम्मेवारी पाएका प्रधानमन्त्री के.पी. ओली र प्रचण्डलगायतका नेताहरुले मात्र अब कानुनको कडाइ गरेर हुनेवाला छैन । हरेक स्थानीय सरकार, स्थानीय प्रशासन, स्थानीय प्रहरी, सरकारी वकिल, स्थानीय सञ्चारकर्मी मात्र नभई आमबुद्धिजीवी, अधिकारकर्मीहरुले समेत कानुनलाई कडाइका साथ लागू गर्न आ–आफ्नो स्थानबाट खबरदारी गर्नुपर्ने देखिएको छ ।

पछिल्लो परवर्तित अवस्थामा परिवर्तन भएको कानुन र कानुनमा उल्लेख गरिएका सजायहरुको बारेमा पनि अब हरेक स्थानीय सरकारहरुले टोल–टोलसम्म जानकारी गराउन सकेमा, यसको सकारात्मक सन्देश फैलाउन सकेमा पक्कै पनि देशमा देखिएका सानातिना समस्याहरु सहजै समाधान हुनेछन् । विकासमा देखिएको ढिलासुस्ती स्वतः बन्द हुनेछ ।

करोडौं रकम कमाएर लाख मात्रै कर तिर्ने ठूला महामहिमहरु करको दायरामा आउनेछन् । नेपालमा परिवर्तनको शुरुवात भएको स्पष्ट देखिनेछ । सबै इमानदार बन्नुपर्ने अहिलेको आवश्यकता हो ।
– सन्जीव थापा, झापा ।