दुर्गाप्रसाद शर्मा, पर्वत
उमेर ८२ बर्ष भैसक्यो तर उनका हात अहिले पनि खलाती(आरनमा आगो फुक्ने छालाको साधन) मै अभ्यस्त छन । १२ बर्षको उमेरमा समातेको खलाती अहिले पनि उनका लागि पेट पाल्ने र परिवारको खर्च धान्ने साधन हो । बुढ्यौलीले ढाकेपनि उनी निरन्तर खलातीको हावाले आगो सल्काउँदै फलाम तताउने दैनिक छाड्न सक्दैनन ।
उनी अर्थात पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँका ८२ बर्षिय बृद्ध जगतबहादुर बिक ७० बर्ष देखि खलाती फुकेर परिवारको बिहान बेलुकाको हात मुख जोड्ने काममा अभ्यस्त छन । ‘यही खलाती फुकेर ७० बर्ष देखि परिवार पाल्दै आएको छु’ उनले भने ‘परान(श्वास) रहुन्जेल यही खलाती मेरो हात मुख जोड्ने साधन हो, खलाती फुक्न छाड्दा मेरो स्वास पनि रोकिन्छ’
आरन चलाउने काम जगतबहादुर बिकको परिवार पाल्ने पुख्यौली पेशा नै हो । उनका बाबु बराजेले पनि यही पेशाबाट परिवार पालेका थिए । अहिलेको विकसित समयमा पनि उनी पुरानै बालीघरे प्रथाकै भरमा उनको पेशा चलेको छ । बाली घरे प्रथाका कारण श्रमिकहरु मर्कामा परे भनेर यसलाई रोक्न ठुला ठुला आन्दोलन भए, सम्झौता भए तर उनलाई त्यसको अत्तोपत्तो पनि छैन, अझै भन्दा त्यस्ता कुरामा वास्ता पनि गर्दैनन । ‘अरुले बालीघरे छाडे तर मेरो परिवार पाल्ने पेशा नै यही हो, बाँचुञ्जेल छाड्दिन’ उनले भने ‘म बालीघरेबाट सन्तुष्ट छु, अरुको कुरा जान्दिन ’ जगतबहादुरले अहिले पनि बार्षिक ५ पाथी देखि १० पाथी सम्म अन्न उठाउँदै आएका छन । यसरी उठाएको अन्नले उनले बार्षिक रुपमा घर खर्च चल्दै आएको बताउँछन ।
बालीघरे प्रथाका पक्षमा जगतबहादुर अहिले मात्रै होईन १२ बर्षे उमेर देखि नै थिए । बाबुले काम गर्न नसकेपछि उनले १२ बर्ष देखि नै उनले आरन चलाउन थाले । फलामका धातु पिटेर हसिँया, बञ्चरो, कोदाली,फाली बनाएरै उनले घर खर्च चलाउन थाले । आरन चलाउँदै गर्दा उनलाई भारत जाँने सोच आयो, पहिले उडिसा र पछि आसाम पुगेर रोजगारी गरे । भारतमा गएपछि उनलाई अरु पेशा होइन आरन नै चलाउने मन लाग्यो । २२ बगा जति भारतमा बिताएर २०१८ सालमा उनी फलेबास फर्केर फेरी पुरानै आरन चलाउन थाले । ‘भारतमा गए पनि आरन चलाउन छाडिन’ उनले भने ‘अरु काम गर्दा कमाई नभएपछि आरन चलाउँदा सोचे भन्दा बढी कमाई भयो ’ भारतमा उनले मासिक ५ सय सम्म हसिँया र धान काट्ने कच्चीया बनाएर कमाई गरे । त्यसबेला त्यो कमाई सबैभन्दा सबैभन्दा बढी थियो ।
नेपाल फर्केपछि पनि उनले यही पेशा अंगाले । नेपाल फर्केपछि साविकका शंकरपोखरी, खानीगाउँ, देबिस्थान र मुडिकुवा गाबिसका झण्डै २ सय घरमा बालीघरे प्रथाका आधारमै आरन चलाए । त्यसबेला उनले २०, ३० मुरी अन्न उठाउँथे । अन्न उठाउन मात्रै परिवारका सदस्यले महिना दिन भन्दा बढी समय लगाउनुपथ्र्यो । उनी सम्झन्छन ‘महिना दिन सम्म त अन्न उठाउन हिड्नै समय लाग्थ्यो, कतिघरमा त बर्षमा एक दिन पुग्न पनि मुस्किल’ त्यसबेला उनका ६ भाई छोरा र ७ बहिनी छोरी सहितको परिवार उठाएको अन्नले सजिलै पाल्न सक्थे । ‘परिवार पाल्न एक गेडो अन्न बेसाइन(किनिन) उनले भने ‘बरु छिमेकीलाई दुई चार पाथी बाँड्न पनि पुग्थ्यो’
फलेबास हिजो गाउँ थियो अहिले नगरपालिका भएको छ । गाउँ क्रमशःबजारमा रुपान्तरित बन्दैछ । तर उनको दुःख कहिँ गएको छैन । ८२ बर्षे उमेरमा पनि ५ किलोको घन उचालेर फलाम पिट्न उनका हात अभ्यस्त देखिन्छ । अहिले उनलाई सबैभन्दा बढी फलाम पलाग्ने गोल(काठको कोइला)को समस्या परेको छ। पहिले जंगलमा सालका जरा उखेलेर गोल बनाउँथे, अहिले जंगल जान बुढ्यौली लागेपछि सक्दैनन, नजिक रुख काट्न पाउँदैनन । गोल बनाउनुको साटो हसिँया बोकेर आउने ग्राहकले नै सालका दाउरा ल्याउँछन । आगो बालेर फलामका सामाग्री तयार पार्छन । ‘मेरो प्राण रहे सम्म यही आरनमा फु फु गरेर बित्ने भो’ उनले भने हाँस्दै भने ‘अरुलाई जे सुकै होस, मलाई मेरो परिवार पाल्न यही पेशा ठिक छ’
फलेबास नगरपालिकाले अरुलाई आगो सल्काउन आरन चलाउने मेसिन दिएपनि उनलाई नदिएको गुनासो गरे जगत बहादुरले । फलेबास नगरपालिकाले भने आरन लगायत तामाका भाँडाकुँडा बनाउन गाँउँमा उद्योग ग्राम खोल्ने योजना बनाएको छ । एकै ठाउँमा सबै उद्यमीर्ला राखेर नगरपालिकाले उद्योगका लागि घर र सामाग्री दिने उद्देश्य राखेको नगरप्रमुख पदमपाणी शर्माले बताए । ‘घरेलु हतियार उद्योग बनाउने गरि उद्योग ग्रामको अवधारणा बनाएका छै’ उनले भने ‘अब कसैले सहयोग पाइन भन्ने अवस्था नै आउँदैन, चाहे जति सहयोग र सामाग्री उपलब्ध गराउन बजेट ब्यबस्थापन गरेका छौ’ नगरपालिकाले चालु बर्षको बजेटमा ३० लाख घरेलु हतियार उद्योग ग्राम बनाउन बिनियोजन गरेको छ ।











प्रतिक्रिया