एसियन गेम्स: पाराग्लाइडिङमा नेपाललाई रजत


काठमाडौं । १८औं एसियाली खेलकुद प्रतियोगिताको पाराग्लाइडिङ अन्तर्गत टिम क्रस कन्ट्रीमा नेपालले रजत पदक जितेको छ ।

इन्डोनेसियामा अाज भएको पाचौं राउन्डको खेलमा पाराग्लाइडिङको पुरुष टिमले उत्कृष्ट प्रदर्शन गर्दै पदकविहीन हुनबाट नेपाललाई जोगाएको हो । नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो ।

नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको थियो ।

एसियन गेम्सको इतिहासमा नेपालले जितेको यो दोस्रो रजत पदक हो । यसअघि नेपालले सन् १९९८ मा बैंककमा भएको एसियन गेम्समा तेक्वान्दोमा नेपालकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

नेपाल सन् १९८६ मा दक्षिण कोरियाको सिअोलमा भएको पहिलो संस्करणको एसियाडबाट नै सहभागिता जनाउँदै अाएको छ। त्यसबीच सन् १९५४ मा फिलिपिन्सको मनिलामा र १९६२ मा इन्डोनेशियाको जाकर्तामा भएको बाहेक १६ संस्करणमा नेपालले सहभागिता जनाएको छ।

एसियाडमा नेपालले जितेको सबैभन्दा ठूलो पदक रजत हो। त्यो पदक तेक्वान्दोकी सविता राजभण्डारीले दिलाएकी थिइन्। त्यसबाहेक नेपालले २२ कास्य पदक जितेको छ। नेपालले पहिलो संस्करणको एसियाडमा पनि पदक जितेको थियो।

नेपालका लागि हालसम्म सबै पदकहरु मार्सल अार्टसका खेलहरुले दिलाएका छन्। सबैभन्दा बढी तेक्वान्दोले १३ कास्य र एक रजत, बक्सिङले ६ कास्य र करातेले तीन कास्य दिलाएको छ। यस एसियाडमा भने यी तीनवटै खेलहरु पदकविहिन छन्।