नेपालकाे पदक सम्भावना


जकार्ता, (एजेन्सी)
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रस कन्ट्रीको नेपाली पुरुष टोलीले राष्ट्रलाई पहिलो पदक दिलाउने संभावना भएको छ ।

विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, शुशील गुरुङ र विशाल थापा सम्मिलित नेपाली टोलीले टिम क्रस कन्ट्रीतर्फ दोस्रो स्थान हासिल गरेको हो । जबकी तेस्रो चरणमा सो टोली चौथो स्थानमा झरेको थियो ।

मंगलबार चौथो चरण समाप्त हुँदा नेपाली टोलीले २७९८ अंक जोडेको छ । शीर्ष स्थानमा उक्लिएको जापानी टोलीले ३२९८ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको दक्षिण कोरियन टोलीको २१९२ अंक रहेको छ । जापानसँग ५ सय अंकले पछाडि रहेको नेपाल कोरियासँग ६ सय ६ अंकले अगाडि छ ।

तर क्रस कन्ट्रीतर्फ एक टोलीबाट ५ खेलाडी हुनेमा प्रत्येक खेलाडीलाई १ हजार पूर्णाङ्कको जिम्मा दिइएको हुन्छ । २५ किलोमीटरको क्रस कन्ट्रीमा पाँच चरणको स्पर्धा हुन्छ । आज नेपालले पदक जित्ने वा नजित्ने टुंगो लाग्नेछ ।

यमसाजनद्वारा दौड परित्याग
तीब्र गतिका धावक यमसाजन सुनारले चोटको कारण पुरुष २ सय मिटर दौड परित्याग गरेका छन् ।
हिट नम्बर ४ मा रहेका यमसाजनले मांशपेशीको दुखाईले गर्दा दौड परित्याग गर्नु परेको बताइएको छ । उनले बताएअनुसार शनिबार १ सय मिटर दौडमा नै उनको मांशपेशी दुखेको थियो । उनले सो दौडअन्तर्गत हिट चरणमा ११.३९ सेकेण्डमा दोड पुरा गरेका थिए ।

भलिबलमा जित
नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलतर्फ १२ देखि १८ औं स्थानको वरियता निर्धारण गरिने खेलमा जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३–१ सेटमा पराजित ग¥यो । यो नेपालको एसियाड भलिबलमा पहिलो जित समेत हो । यसअघि समूह चरणको खेलमा नेपाल चिनियाँ ताइपेइ र दक्षिण कोरियाको टोलीसँग पराजित भएको थियो ।

कुँरास
कुराँसमा नेपालको चुनौती समाप्त भएको छ । पुरुष ६६ केजीमुनिको अन्तिम ३२ मा उपेन्द्र थापाले पाकिस्तानका खेलाडीलाई १–० ले पराजित गरे । प्रिक्वाटरफाइनलमा भने उपेन्द्र उज्वेकिस्तानका खेलाडीसंग १०–० ले हारे । महिलाको ५२ केजीमुनिको पहिलो चरणमा नेपालकी भगवती माझी चाइनिज ताइपेईंकी खेलाडीसंग १०–० ले पराजित भइन् ।

सेपाकताक्रो
सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपाल भियतनामसंग २–० ले पराजित भयो ।

स्केटबोर्ड
स्केटबोर्डको पुरुष स्ट्रिट स्पर्धामा नेपालका नेरिश थापा १८ खेलाडी सहभागिमा १५ औं भएका छन् ।

स्क्वास
नेपालको पुरुष टिम इभेन्टमा जापानसंग ३–० ले पराजित भएको छ । यसअघि नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग पनि ३–० ले पछि परेको थियो ।

एथलेटिक्स 
नेपालकी विश्वरुपा बुढाले १५ खेलाडी सहभागी महिला ५ हजार मिटर दौडमा १३ औं स्थान हासिल गरिन् । विश्वरुपाले निर्धारित दूरी १७ मिनेट २४.७८ सेकेन्डमा पूरा गरेकी हुन् ।

चीन ९७ ६४ ४५ २०६
जापान ४३ ३८ ६१ १४२
द.कोरिया ३२ ४० ४६ ११८
इन्डोनेसिया २४ १९ २९ ७२
इरान १७ १६ १६ ४९
ताइपेई १३ १४ २० ४७
उ.कोरिया १२ ८ ७ २७
भारत ९ १९ २२ ५०
उज्बेकिस्तान ९ १५ १४ ३८
थाइल्यान्ड ९ ११ ३३ ५३
कजाकिस्तान ८ ९ ३० ४७
बहराइन ८ ३ ५ १६
हङकङ ४ १२ १६ ३२
मलेसिया ४ ८ ८ २०
कतार ४ ३ ३ १०