सेरेना दोस्रो चरणमा


न्युयोर्क, (एजेन्सी)
सोमबारदेखि शुुरु भएको वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसअन्तर्गत ६ पटककी च्याम्पियन सेरेना विलियम्स भने दोस्रो चरणमा पुगिन् । सेरेनाले पोल्यान्डकी म्याग्दा लिनेटलाई ६–४, ६–० ले सहजै हराएकी थिइन् । उनले छोरी ओलम्पिया जन्माएपछि गत वर्ष प्रतियोगिता खेल्न पाएको थिएन । अर्को चरणमा उनको सामना जर्मनीकी कारिना विटहोएफ्टसँग हुनेछ ।

उता विश्व नम्बर एक महिला खेलाडी सिमोना हालेप पहिलो चरणबाटै विदा भएकी छन् । काइया कानेपीले सोमबार राति हालेपलाई ६–२, ६–४ ले हराएकी हुन् । २६ वर्षीया रोमानियनले यसै वर्ष फ्रेन्च ओपन जितेर करियरमा पहिलो ग्रान्डस्लाम हात पारेकी थिइन् । दोस्रो सेटमा हालेपले ४–४ को स्थिति बनाएकी थिइन् । तर इस्टोनियन खेलाडीले उनलाई खेलमा फर्कन कुनै अवसर दिएन । गत वर्ष यसै प्रतियोगितामा हालेप पहिलो चरणमै हारेकी थिइन् ।