फ्रेस हाउसको ब्यानरमा कुहिएको मासु

0
Shares

विजय नेपाली, पोखरा
पोखराका मासु प्रोडक्ट,उत्पादन कम्पनी तथा फ्रेस हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यको ख्यालै नगरी पैसा कमाउने नाममा सडेको र फोहोर मासु बेच्दै आएको भेटिएको छ । \

पोखरा महानगरभित्र केही फ्रेस हाउस तथा मासु सप्लायर्सले मासु बिक्री गर्दा कुहिएको, फोहोर खानयोग्य नभएको मासु बजारमा पठाउने गरेको र मुख्य गरी ससेज तथा मिट प्रडक्ट बनाउन कुहिएको मासु प्रयोग भएको पाइएको छ । जिल्ला अनुगमन समिति कास्कीले पोखराका विभिन्न मासु सप्लायर्स तथा फ्रेस हाउसमा अनुगमन गर्दा यस्तो भेटिएको हो ।

अनुगमनका क्रममा भ्याली फ्रेस हाउस एण्ड सप्लायर्स र फेमिली मिट प्रोडक्टमा सिलबन्दी समेत गरिएको थियो । भ्याली फ्रेस हाउसमा खसी वोकाको खुट्टा तथा ४० किलो भन्दा बढी मासु कुहिएको भेटिएको थियो । उक्त मासु फेमिली सप्लायर्सबाट ल्याउने थाहा पाएपश्चात् फेमिलि सप्लायर्समा अनुगमन गर्ने क्रममा कुहिएको तथा अति दुर्गन्धित मासु कोल्ड स्टोरमा भण्डारण गरेर राखेको अवस्थामा भेटिएको थियो । फेमिली मिट प्रड्कटबाट करिव एक हजार किलो भन्दा बढी कुहिएको र सिनो जस्तै गन्हायको मासु नष्ट गरिएको थियो । त्यस्तै मचिल फुड प्रोडक्टलाई अनुमती बिना संचालन गरेको भन्दै कार्वाहीको लागि बोलाइएको छ ।

पोखरा महानगरपालिका १७ विरैटामा रहेको फिस्टेल कोल्ड स्टोरमा पनि ससेज बनाउन फोहर मासु प्रयोग गरिएको भेटिएको छ । फिस्टेलमा बफ मिट ५ केजीको १४ प्याकेट, ससेज चिकेन ३२ प्याकेट, प्राउन १९ प्याकेट, बफ किमा ११ प्याकेट, चिकेन ट्रीमिङ्ग १५ प्याकेट र चिकेन किमा २९ प्याकेट फोहोर मासु भेटिएको हो।

अनुगमन पछि एक हप्ता भित्र पूरा स्टोर सफा गरि २४ घण्टा भित्र स्टोर संचालनको दर्ता सहितको सम्पुर्ण कागजात जिल्ला प्रशासन कार्यालयमा ल्याउन निर्देशन दिइएको छ । उक्त स्टोरमा अनुगमन गर्ने क्रममा ससेज बनाउन प्रयोग गरिने मासु फोहोर तथा उत्पादन भएको ससेजमा ट्याग नभेटिएको उपभोग्य मिति नराखिएको र स्टोरमा मासु राख्ने ठाउँको फलाममा पुर्ण रुपमा खिया लागेको भिटिएपछि उक्त निर्देशन दिइएको हो । त्यस्तै फेवा मिट प्रोडक्ट प्रा.लि मा समेत उपभोग्य मिति सकिएको मासु तथा प्रोडक्ट भेटिएको छ ।

अनुगमनको क्रममा भेटिएको मासु अखाद्य रहेको र पुर्ण रुपमा बिग्रेको सहयाक प्रमुख जिल्ला अधिकारी गांगा बहादुर क्षेत्रीले जानकारी दिए । उनले कोल्ड स्टोरमा राखेको मासु नै बिग्रेको भेटिएको बताए । ‘ससेज बनाउन प्रयोग गरिने मासु निकै अनुत्पादित रहेछ, पैसा कमाउने नाउँमा जनताको स्वास्थप्रती नसोची व्यवसाय गर्न मिल्दैन, यो सरासर गलत हो’ –क्षेत्रीले भने ।
जिल्ला अनुसंधान कार्यालयका उपनिर्देशक भुमीराज पाठकले ससेज बनाउनको लागि प्रयोग गरेको मासु कुहीएको बताए ।

कोल्ड स्टोरमा राखिने मासु अखाद्य हुदा जनताको स्वाथ्यमा ठूलो असर पर्ने उनले बताए । मासु ज्यादा मात्रामा अखाद्य तथा बिग्रेको भेटिएको पाठकले जानकारी दिए । पोखरा फिस्टेल कोल्ड स्टोरबाट लागभग ५ सय किलो अशुद्ध मासु नष्ट गरिएको र फेवा मिट प्रोडक्टबाट १ सय किलो चिकेन मिट तथा प्रोडक्ट नष्ट गरिएको जानकारी उनले दिए । मासु तथा खाध्य राख्ने स्टोरमा फलामा भाडाहरु राखिएको तार खिया लाग्ने ठाउँमा यसरी खाध्यन राख्न नहुने पाठको भनाई छ । फिस्टेल कोल्ड स्टोरले विक्री गदै आएको खाध्यन्नमा व्याच नम्बर समेत भेटिएको छैन ।

भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र प्रमुख पुरुषोत्तम त्रिपाठीले प्रयोगै गर्न नमिल्ने कालो मासुलाई पनि ससेज बनाउनको लागि प्रयोग गरिएको बताए । उनले उक्त मासु खानको लागि योग्य नभएको तर पोखरा फिस्टेलले प्रयोगमा ल्याएको बताए ।
उक्त कोल्ड स्टोरमा भैसी, कुखुरा र बंगुर लगायतका जनावरको मासु एकै ठाएउँमा राखिएको पाईएको हो । सबै जनावरको मासुलाई एकै ठाउँमा राख्दा कुनैपनि जनावरको शुद्ध मासु नभेटिने पुरुषेतम त्रिपाठीले बताए ।