शिवहरि भट्टराई, राजविराज
सप्तकोशी नदिको पानी गाउँ पसेपछि सोमवार राती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका २ वटा वडा डुवानमा परेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ८ र १२ का करिव १२५ घर डुवानमा परेको ईलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । राती करिव ८ वजे पसेको पानीले नगरपालिका कार्यालय र लिलजा ठाकुर प्राथमिक विद्यालय समेत डुबानमा परेको प्रहरीले जनाएको छ ।
भारतले कोशी ब्यारेजभन्दा मुनि पाईलट च्यानल वनाएर पानी पश्चिमतर्फ फर्काई दिएका कारण सामान्य अवस्थामै पानी गाउँ पसेको स्थानीले जनाएका छन् । वाँध निर्माण भईसकेपछि सोमवार च्यानलको प्रयोग गरेर भारतीय अधिकारीहरुले आफुखसी पानी पश्चिमतर्फ फर्काएको उनीहरुको आरोप छ ।
सप्तरीका डिएसपी भावेश रिमालले पनि पानीको वहाव वढेर वा वाँध भत्किएर पानी पसेको नभई कोशी ब्यारेजभन्दा मुनितिर भएको च्यानलकै कारण पानी गाउँ पसेको जनाए । ‘गाउँमा पानी पस्दा कोशीको वहाव १ लाख ७० हजार क्यूसेक मात्रै थियो’ रिमाल भन्छन्–‘यसअघि अढाई देखि ३ लाख क्युसेक कोशीको वहावमा पनि नपसेको पानी समान्य अवस्थामै गाउँ पस्यो ।’
गाउँमा पानी पसेर डुवानमा परेका घर परिवारलाई राती नै सुरक्षित गरिएको रिमालले जानकारी दिए ।
मंगलवार विहानसम्म कोशीको वहाव अझै घटेकोले डराउनु पर्ने अवस्था नरहेको उनको भनाई छ । ‘कोशीको पानी घटेको छ, गाउँलेहरु पनि सुरक्षित छन्’ उनले थपे–‘तर, करिव १२५ घर–आँगनमा १ फिट जति पानी जमेको छ।’
कोशीको पानी फेरी गाउँ पस्न नदिन र गाउँको सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत समन्वय गर्ने कार्य भईरहेको डिएसपी रिमालले वताए ।











प्रतिक्रिया