संहितामा कमजोरी भए सरकार सच्याउँन तयारः मन्त्री पण्डित

0
Shares

 

भक्तपुर (नेस)। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देवानी फौजदारी संहितामा कमजोरी भए सरकार सच्याउँन तयार रहेको बताउनुभएको छ ।

भक्तपुरबाट प्रकाशित हुदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं ईडोलेश्वर डट कम अनलाईन संस्करणको आज शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले सरकार, जनता, कर्मचारी, पत्रकार सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उहाँले बेलायत, अमेरिका, भारत कुनैपनि देशमा नेपालमा जति प्रेस स्वतन्त्रता नभएको दाबी गर्नुभयो । गल्ति नगर्ने पत्रकारले सरकारद्धारा जारी नयाँ देवानी तथा फौजदारी संहिताबाट डराउँनु नपर्ने बताउनु भएको हो ।

आफ्नो अधिकार खोज्दा अरुको अधिकारको पनि संरक्षण गर्नुपर्छ भन्ने जान्ने हो भने कोही पनि डराउँनु नपर्ने भन्दै उहाँले सिंहदरबार अगाडि नाङ्गै उभिनु पनि मानव अधिकार हो भन्ने हो भने नेपाली समाज नरहने टिप्पणी गर्नुभयो ।
उहाँले घाम तापेर बस्ने, हप्तामा एक पटक आएर सधैको हाजिर गरेर जाने कर्मचारीलाई भने अब विदाई गरेर घर पठाईने उहाँको भनाई थियो । स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताउँदै उहाँले लोकसेवा आयोगले बिज्ञापन रोक्दैन भन्दै आवश्यकता अनुसार बिज्ञापन खोलिरहने र ती कर्मचारी स्थानीय तहमा पठाईने बताउनुभयो ।

कार्यक्रममा पूर्व उद्योग मन्त्री एवं प्रतिनिधीसभा सदस्य महेश बस्नेतले केही ठूला मिडियाहरु वदनियतपूर्वक चल्ने गरेको बताउँदै उहाँले ठूला लगानीका मिडिया साना मिडियालाई किच्ने र आफ्नो राष्ट्रिय रुपमा प्रभुत्व जमाउँन खोज्ने सामन्ती मिडिया भएको आरोप लगाउनुभयो ।

उहाँले लोकतन्त्रलाई अराजकतन्त्र रुपमा लैजान नहुने बताउँदै उहाँले प्रेसलाई संकुचित बनाउँने गरि संहिता आएको हो भने त्यसलाई संशोधन गरेर जान संसदमा आवाज उठाउँन आफू तयार रहेको बताउनुभयो ।
कार्यक्रममा ३ नं. प्रदेशका प्रदेश सदस्य शशीजंग थापाले पत्रपत्रिका, अनलाईन र संचार माध्यमले अब विकासका समाचारलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने औल्याउनुभयो ।

नेपाल पत्रकार महासंघ केन्द्रका महासचिब रमेश बिष्टले देवानी फौजदारी संहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेकोले यसलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली काँग्रेस भक्तपुरका अध्यक्ष दूर्लभ थापा, प्रेस काउन्सिलका सदस्य गाविन्द चौलागाई, प्रेस चौतारीका केन्द्रीय सदस्य सोम शर्मा (बजगाई), कलाकार जीतु नेपाल, डोलेश्वर दैनिकका व्यबस्थापक जनक गिरी, प्रकाशक÷ सम्पादक पेशल आचार्य लगायतले निष्पक्ष र विभेद रहित समाचारका रुपमा संचार माध्यम अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

समाचारपत्रकर्मी बुढाथोकी पुरस्कृत
कार्यक्रममा मन्त्री पण्डितले नगद रु. ११ हजार १११ राशीको डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष तथा नेपाल समाचारपत्रका संवाददाता पुष्कर बुढाथोकीलाई प्रदान गर्नुभयो ।

उहाँले राससकर्मी रमेश गिरी, आनका कार्यकारी सदस्य रोशन प्रसाई, समाजसेवी विजय धौभडेल,पत्रकार शिब मुखिया,समाजसेवी श्रीभक्त कासीछ्वालाई सम्मान गर्नुभयो । हरेक वर्ष एकजना पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रकाशक÷ सम्पादक आचार्यले घोषणा गर्नुभयो ।