सभामुखद्वारा तेक्वान्दो खेलाडीहरुलाई विदाइ


काठमाडौं, (नेस)
सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाई गर्नुभएको छ ।

सोमबार बिहान सभामुखको सरकारी निवास वालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई सभामुख महराले विदाई गर्नुभएको हो ।

टोलीलाई अबिर माला लगाएर विदाइ गर्नुहुँदै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

‘तपाईंहरु नेपालको तर्फबाट तेक्वान्दो खेल्न जाँदै हुनुहुन्छ, उहाँले भन्नुभयो, ‘उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोस्, तपाईंहरुको सफलता सिंगो देशकै सफलता हुनेछ । तपाईंहरुलाई सफलताको लागि मेरो हार्दिक शुभकामना छ ।’

विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो । मंगलबार दक्षिण कोरियातर्फ जान लागेको टोलीमा प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी रहेका छन् ।