चेल्सीको लगातार तेस्रो जित


लन्डन, (एजेन्सी)
यस सिजनको इंग्लिस प्रिमियर लिगमा चेल्सीले लगातार तेस्रो जित दर्ता गरेको छ ।

आइतबार राति अवे मैदानमा भएको खेलमा चेल्सीले न्यूक्यासल युनाइटेडलाई २–१ ले हराउँदै तेस्रो जित दर्ता गरेको हो । यसअघि चेल्सीले हडर्सफिल्ड र आर्सेनललाई हराएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७६ औं मिनेटमा चेल्सीले पाएको पेनाल्टीको अवसरमा इडेन हार्जाडले गोल गरेका थिए ।

तर ८३ औं मिनेटमा न्यूक्यासलका जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यसपछि ओन्सोले प्रहार गरेको बललाई डेन्ड्रे यड्लिनले टच गरेपछि चेल्सीले आत्मघाती गोलको उपहार पाएको थियो ।

सोही गोल नै चेल्सीको जितमा निर्णायक समेत बन्यो । जितसँगै चेल्सीले ९ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति नै भएको अन्य खेलमा फुलह्यामले बर्नलेलाई ४–२ ले हराउँदा वाट्फोर्डले पनि क्रिस्टल प्यालेसलाई २–१ ले पराजित ग¥यो ।

मेड्रिडको शानदार जित
ला लिगामा रियल मेड्रिडले शानदार जित निकालेको छ ।
आइतबार राति अवे मैदानमा भएको खेलमा रियलले जिरोनामाथि ४–१ गोलअन्तरको शानदार जित निकालेको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा गेरेथ बेल र सर्जियो रामोसले समान एक–एक गोल गरेका थिए । जिरोनाका तर्फबाट एलेक्सिसले एक गोल फर्काए ।

खेलको १६औं मिनेटमा बोर्जाले गोल गर्दै जिरोनालाई शुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको अवस्थामा रियलले खेलको ३९ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काएका थिए । डि–एरीयाभित्र मार्को एसेन्सियोलाई जिरोनाका मुनिइसाले लडाएपछि रियलले पेनाल्टी हान्ने मौका पाएको थियो । जसमा कप्तान सर्जियो रामोसको प्रहार सफल भएको थियो ।

यस्तै खेलको ५२ औं मिनेटमा फेरि एसेन्सियोलाई डि–बक्सभित्र फाउल गरेपछि रियलले दोस्रो पटक पेनाल्टी पाएको थियो । जसलाई करिम बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई २–१ अघि पारे । खेलको ५९ औं मिनेटमा गेरेथ बेलले गोल गरेपछि रियलले ३–१ को अग्रता बनायो । खेलको ८०औं मिनेटमा करिम बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै रियलको जित ४–१ ले सुनिश्चित पारे ।

रियलले यसअघि जारी सिजनको पहिलो खेलमा गेटाफेमाथि २–० को जित निकालेको थियो । जितसँगै रियल दुई खेलबाट ६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै अन्य खेलमा इस्पान्योलले भ्यालेन्सियालाई २–० ले हराउँदा सेभिया र भिया रियलले गोलरहित बराबरीमा खेल टुंग्याए ।