प्रहरी चौकीबाटै हतियार चोरिए


अंसुकिओन,(एजेन्सी)
पाराग्वेमा चोरहरुले प्रहरी चौकीकै हतियार भण्डारबाट बयालिसवटा शक्तिशाली राइफल चोरी गरेका छन् । प्रहरी अधिकारीहरुले भण्डारको नीरिक्षणको क्रममा युद्धमा प्रयोग गरिने ति एफएन फल राइफलको स्थानमा काठ र प्लास्टिकका नक्कली राइफल राखिएको फेलापारेको सरकारी संचार माध्यमले सोमवार जनाएको छ ।

गत वर्ष त्यस्तै राइफलहरु कालोबजारमा बिक्रि वितरणका लागि राखिएको भेटिएपछि सम्बन्धिित निकायले हतियार भण्डारको निरिक्षणका लागि आदेश दिएको थियो । कालोबजारमा त्यस्तो प्रति राइफलको मुल्य १० हजार अमेरिकी डलर तोकिएको थियो ।

ति हतियारलाई पुन प्रयोगमा ल्याउन सकिने हालतमै भण्डारमा थन्काइएको थियो । ति चोरिएका केहि राइफल अर्जेन्टिना र केहि ब्राजिल तर्फ तश्करी भएको अनुमान अनुसन्धानकर्ताहरुले गरेका छन् । छिमेकी राष्ट्र ब्राजिलले लामो समय देखि आफुकहाँ अवैध ढंगले हातहतियारहरु पाराग्वेबाट तश्करी हुँदै गरेको गुनासो गर्दै आएको थियो ।

पाराग्वेको संचार माध्यमले ति नक्कली राइफलका तस्वीर सहित खवर प्रकासित गर्दै राष्ट्रिय प्रहरी फौजको इतिहासकै यो सबैभन्दा लज्जास्पद काण्ड भएको जनाएको छ ।