बिमस्टेकमा ५ अस्पताललाई स्टानवाई

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ । काठमाडौँमा हुन लागेको बिमस्टेको चौथो शिखर सम्मेलनकामा सहभागीहरुको स्वास्थ्यलाई ध्यानमा राखी ५ वटा अस्पतालका ४५ जनाको टोली तयार पारेको छ ।

सरकारले स्वास्थ्य क्षेत्रमा नेपालको इतिहास बोकेको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नीजामती अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक, ल्याब लगायतको टोली तयार पारेको जनाएको छ ।

विशिष्ट पाहुनाहरुको स्वास्थ्य सुरक्षाका लागि उक्त टोली गठन गरि स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहका लागि चिकित्सक नर्स स्वास्थ्य सहायक तथा ल्याव असिस्टेन्ट सहितको समूह नै तोकिएको अस्पतालमा तयारी अवस्थामा रहेको जनाएको छ ।

वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतका अनुसार सम्मेलनका लागि स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार एउटा रुम, आईसीयू कक्ष, केही बेड र चार जना चिकित्सक, दुई जना नर्स र एक जना स्वास्थ्य सहयायक सहित ७ जना रहेको स्वास्थ्यकर्मीहरुको टोली तयारी अवस्थामा रहेका छन् ।

त्यसैगरी त्रिवि शिक्षण अस्पतालले ७ जना चिकित्सक, एक जना ल्याब टेक्नोलोजिष्ट, २ जना नर्स र एक जना स्वास्थ्य सहायकको टोली गठन गरेको छ । त्यस्तै नीजामती अस्पतालले ४ जना चिकित्सक, २ जना नर्स र एक जना स्वास्थ्य सहायकको टोली गठन गरेको छ ।

वीरेन्द्र सैनिक अस्पतालले ७ जना डाक्टर २ जना नर्स १जना मेडिकल टेक्नोलोजिष्ट र १जना स्वास्थ्य सहायक रहेको टोली गठन गरेको छ । साथै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६जना चिकित्सक, १जना नर्स, १ जना ल्याब टेक्नोलोजिष्ट र १ जना स्वास्थ्य सहायकको टोली गठन गरेको छ ।

तोकिएका पाँचैवटा अस्पतालले आवश्यक पर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी सहितको विशेष कक्ष सहितको आईसीयु बेड समेत तयारी अवस्थामा राखेको जनाएका छन् ।