सहमतिपछि फोहोर फाल्न शुरु

0
Shares

नुवाकोट ।
काठमाडौंँबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको मृत्यु भएपछि आज दिनभरी रोकिएको फोहोरको गाडी साँझदेखि खुलाइएको छ ।
बिहान काठमाडौंबाट फोहर बोकेर ककनी गाउँपालिका–१ ओखरपौवा सिसडोलतर्फ आउँदै गरेको वा २ ख ६११८ नंको टिपरको ठक्करबाट पैदलयात्री कागती गाउँका ४५ वर्षीय पदम बलामीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै दिनभरी सो गाडी स्थानीयवासीले रोकेका थिए । मृतकको परिवारले तीनपीप्ले–ओखरपौवा सडक ठप्प पारेका थिए ।

मृतकको परिवारलाई रु २० लाख क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलेको ककनी–१ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताउनुभयो । स्थानीय तह–कामपा– –फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीका प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलपछि साँझ रु २० लाख क्षतिपूर्ति दिने सहमति भएको थियो ।

फोहर फाल्ने ठेक्का पाएको कम्पनीले रु १५ लाख र कामपाले रु पाँच लाख क्षतिपूर्ति दिने सहमति भएको छ । पीडित पक्षले क्षतिपूर्तिस्वरुप रु ३० लाख र मृतकको परिवारका एक सदस्यलाई कामपामा रोजगारी दिनुपर्ने माग राखेर सडक बन्द गराएको थियो । छलफलपछि क्षतिपूर्तिस्वरुप रु। २० लाख र परिवारको एक सदस्यलाई महानगरले कर्मचारी आवश्यकताको विज्ञापन गरेका बेलामा उच्च प्राथमिकता दिने सहमति भएको वडाध्यक्ष बलामीले बताउनुभयो ।

कामपाले पीडित परिवारलाई आज नै रु ५० हजार दिएको छ । मंगलबार रु एक लाख र बाँकी रकम ३५ दिनभित्र दिने सहमति भएको छ । यस्तै चालकको चरम लापर्वाहीको कारण बलामीको मृत्यु भएकाले उनलाई कानूनअनुसारको हदैसम्मको कारवाहीका लागि पहल गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
रासस