चार अग्रज सम्मानित

0
Shares

इलाम ।
फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका जेष्ठ नागरिक सम्मानित भएका छन् । ‘मोहनलाल–मनोरमा अधिकारी स्मृति ज्येष्ठ नागरिक सम्मान’द्वारा सो वडाका ४ जना जेष्ठ नागरिक सम्मानित भएका हुन् ।

साविक फुएतप्पा गाविस–५ का ८३ वर्षीय डमरुप्रसाद पौडेल, ८२ वर्षीय दम्पती अम्वरबहादुर श्रेष्ठ र दिलमाया श्रेष्ठसहित स्थानीय ७९ वर्षीया गायत्रादेवी खनाललाई सम्मान गरिएको हो । उहाँहरुलाई खादा, दोसल्ला ओढाएर मालाटीका अर्पण गर्दै जनही ५ सय रुपियाँ नगद र सम्मानपत्र प्रदान गरिएको कार्यक्रमका अध्यक्ष प्रवीणकुमार अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय थामडाँडा पशुपालन सहकारी संस्थामा आयोजित कार्यक्रममा उपस्थित ७० वर्ष माथिका अन्य वृद्धवृद्धालाई पनि प्रसाद र खादा प्रदान गरिएको थियो । यस्तो सम्मान कार्यक्रम विगत ४ वर्षदेखि हुँदै आएको छ । फुएतप्पाका स्थानीय गंगाप्रसाद अधिकारी एवं साहित्यकार ‘खोलाघरे साँइला’ले आफ्ना माता पिताको स्मृतिमा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम शुरु गर्नुभएको हो ।

सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै साविकको फुएतप्पा गाविसका अन्य वडामा पनि विस्तार गरिने साहित्यकार साँइलाले जानकारी दिनुभयो । ‘सम्मान कार्यक्रमको कोषवृद्धि गर्दै आसपासका वडामा पनि यस्तो गतिविधि बढाउने गृहकार्य भइरहेको छ’ –उहाँले भन्नुभयो ।