ट्रम्पको बयान गैर जिम्मेवार: चीन


बेइजिङ÷वासिङटन (एजेन्सी)
परमाणु कार्यक्रमको मुद्दामा उत्तर कोरियामाथि बइजिङले पर्याप्त दबाव नदिएको अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको आरोपलाई चीनले गैरजिम्मेवारी भएको बताएको छ ।

ट्रम्पले शुक्रबार ट्विटमा चीन अमेरिकासँग ब्यापारिक तनाव बढनुका कारण उत्तर कोरियाको मामिलामा उनलाई सहयोग नगरेको आरोप लगाएका थिए । चीनका विदेश मन्त्रालयका प्रवक्ताले त्यसको जवाफ दिँदै भने– ट्रम्पको यो बयान वास्तविक तथ्य विपरित छ र चीन यस मामिलामा अत्यन्तै चिन्तित छ ।

विहिबार अमेरिकी राष्टपति ट्रम्पले अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरियाको प्रस्तावित यात्रा रद्द गरेका थिए । ट्रम्पका अनुसार उत्तर कोरियाको परमाणु कार्यक्रम अन्त्य गर्ने दिशामा अत्यन्त कम प्रगति भइरहेको छ ।
यद्यपी जुनमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भएको शिखर वार्तापछि डोनाल्ड ट्रम्पले अमेरिकाका लागि उत्तर कोरिया अब परमाणु खतरा नरहेको बताएका थिए ।

संयुक्त राष्ट्रको परमाणु एजेन्सी (आईएईए)ले पनि उत्तर कोरियाको परमाणु कार्यक्रम जारी रहेको उल्लेख गरेको थियो । यसबीच दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुबीच पनि कयौं भेटवार्ता भएका थिए । यस परिणाम स्वरुप एक ठुलो कार्यक्रमको माध्यमबाट दुई देशका नागरिकबीच पुनरर्मिलन आयोजना भयो ।

६५ बर्ष पहिला दुई देशबीच भएको युद्धपछि अलगिएका परिवार सदस्यले उक्त संयुक्त आयोजनामा भेट्ने अवसर पाए । उक्त कार्यक्रमलाई ‘अन्तर कोरियाली परिवार पुनर्मिलन‘ नाम दिइएको थियो ।
दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार उक्त युद्धपछि पहिलो पटक ८१ परिवारका करिब ३ सय २५ जनाले एक अर्काको आपन्तलाई भेट्न पाए ।

यसबीच अमेरिकी राष्ट्रपतिले ट्विटमा भनेका छन– विदेशमन्त्री माइक पोम्पियो निकट भविष्यमा उत्तर कोरिया जाने योजना बताउन सक्छ । सम्भवत त्यतिबेलासम्म चीनसँग हाम्रो ब्यापारिक सम्बन्ध सल्टिनेछ । त्यसबेला म चेयरमेन किमलाई शुभकामना पठाउन चाहन्छु । चाँदै नै मैले उसँग भेट्न पाउनुमा खुसी हुनेछु ।