ताराद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार


नेपाल समाचारपत्र, काठमाडौं
इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १ सय १ केजी र कुलमा १ सय ७५ केजीको भार उचालेकी हुन् । उनले स्नाचमा एक केजीको मात्रै राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । तर क्लिन एन्ड जर्कमा उनको यसअघिको राष्ट्रिय कीर्तिमान ९७ केजी र कुलमा १ सय ७० केजी भार रहेको थियो ।

ताराले २ वर्षअघि भारतमा भएको १२औं सागमा कांस्य पदक जितेकी थिइन् । यस्तै यही वर्ष नेपालगन्जमा भएको एसियाली खेलकुद छनोटमा उनले तीन राष्ट्रिय कीर्तिमान रचेकी थिइन् । यो कीर्तिमानमा उनले अहिले सुधार गरिन् ।
भारोत्तोलनमा यसअघि सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए । चौथो सहभागि विकास थापाले कुनै राष्ट्रिय कीर्तिमान स्थापित गर्न सकेनन् ।

टेबलटेनिस
टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपाल पराजित भएको छ । पुरुषमा अमरलाल मल्ल, श्यान्टु श्रेष्ठ र दीप साउनको नेपाली टोली चीनसंग ३–० ले पराजित भयो । त्यस्तै महिलातर्फ नवीता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रवीना महर्जन पनि मलेसिया र सिंगापुरसंग समान ३–० को सीधा सेटमा हारेका थिए ।

बक्सिङ
बक्सिङको पुरुष ६९ केजीमा नेपालका विष्णुप्रसाद घले गुरुङ कतारका थुलासिमारान थारुमालिङगमसँग ५–० ले पराजित भए । पुरुष ५२ केजीमा नेपालका प्रेम चौधरी पनि फिलिपिन्सका रोगन लादोनसंग ५–० ले नै हारेका थिए ।

कराते
करातेमा चन्चला दनुवारको हारपछि पदकको आस लगभग समाप्त नै भइसकेको छ । आईतबार पुरुष ६० केजीमा सोनाम लामा भियतनामका हाइभान नुयेनसंग ३–० तथा ६७ केजीमा विजय लामा जापानका सिनोहारा हिरोतोसंग १–० ले पराजित भए । महिला ६१ केजीमा थाइल्यान्डकी आर्म सुक्कीआउले नेपालकी सुनीता महर्जनलाई ४–१ ले निराश पारिन् ।

सेपाकताक्रो 
एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपाल चीनसंग २–० ले पराजित भएको छ । यसअघि नेपाल मलेसिया र दक्षिण कोरियासंग समान २–० को नतिजामा पराजित भएको थियो ।

प्लाराग्लाइडिङ

प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको दोस्रो चरण सकिँदा नेपाली पुरुष टिम तेस्रो स्थानमा रहेको छ । नेपाली टिमले दोस्रो चरणसम्म २९ सय ४९ अंक जोडेको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले खेलिरहेका छन् । ३८ सय १८ अंक जोडेर इन्डोनेसिया शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको ३१ सय ३९ अंक छ । २७ सय ७५ अंक जोडेर चौथो स्थानमा रहेको जापानले नेपाललाई पछ्याइरहेको छ ।

महिलातर्फ दोस्रो चरणको खेल सकिँदा नेपाली टिम पाँचौ स्थानमा झरेको छ । अघिल्लो दिन नेपाली महिला टिम चौथो स्थानमा थियो । नेपाली महिला टिमले अहिलेसम्म ६ सय ३८ अंक जोडेको छ । नेपाली टिममा प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ बम्जन तामाङ र सविता तामाङ छन् । यो इभेन्टमा दक्षिण कोरिया पहिलो, जापान दोस्रो, इन्डोनेसिया तेस्रो र थाइल्यान्ड चौथोमा छन् ।
प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्ट पाँच राउन्डसम्म चल्नेछ । बुधबार यो इभेन्टको पदकको टुंगो लाग्नेछ ।

गल्फ 
गल्फको व्यक्तिगत स्पर्धामा नेपालका शुक्रबहादुर राई ५७ औं, टंकबहादुर कार्की ६० औं, पृथ्वी मल्ल संयुक्त रुपमा ७४ औं र अजित विक संयुक्त रुपमा ७८ औं स्थानमा रहे । यो स्पर्धामा ७८ खेलाडीले भाग लिएका थिए । जापानले स्वर्ण, दक्षिण कोरियाले रजत र चीनले कास्य पदक जिते ।

गल्फको टिम स्पर्धामा नेपाल १७ औं भएको छ । यो स्पर्धामा २० टिम सहभागी थिए । टिम स्पर्धाको स्वर्ण पनि जापानले जितेको छ । चीन दोस्रो तथा दक्षिण कोरिया तेस्रो भए ।