नेपाल तेस्रो अभ्यास खेलमा पनि विजयी


काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा तेस्रो तथा अन्तिम अभ्यास खेल पनि जितेको छ ।
कोलम्बोको कोल्टस् क्लब मैदानमा आईतबार भएको खेलमा नेपालले कोल्टस् क्रिकेट क्लबलाई ५ विकेटले हराएको हो । योसँगै नेपाली टोलीले श्रीलंका भ्रमणमा तीनै अभ्यास खेलमा जित हात पारेको छ । घरेलु टोलीले २ सय १७ रनको लक्ष्य दिएकोमा नेपालले ५ विकेटको क्षेतिमा ४२.४ ओभरमा लक्ष्य भेटाएको थियो । नेपाली टोली मलेसियामा आज नै त्यतैबाट प्रस्थान गर्नेछ ।

नेपालको जितमा कप्तान पारस खड्काले सर्वाधिक ५८ रनको योगदान दिएका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अर्धसतक प्रहार गर्ने क्रममा ५२ रन बनाए । पहिलो अभ्यास खेलमा नजमेका उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रनको इनिङ खेले भने आरिफ शेखले २३ रन र ओपनर सुवास खकुरेलले २२ रनको योगदान दिएका थिए । तर सागर पुन र विनोद भण्डारीले क्रमशः ५ र १ रन बनाएर निरास गरेका थिए । श्रीलंकन बलरमा आयना सिरी वर्दनेले सर्वाधिक २ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको कोल्ट्सले ४९ .५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार गरेको थियो । टोलीका लागि हसन सेवा नायकेले सवार्धिक ५९ रन बनाए । यस्तै आयना श्रीवाडनेले ३६, मदुरा लकमलले ३१ रनको योगदान दिएका थिए । अन्यमा विश्व चतुरांगाले २६ र क्रिसन नाथले २४ रन बनाउन सफल भए । नेपाली बलरमा सोमपाल कामीले ३ विकेट लिए भने करण केसी र सागरले २÷२ विकेट हासिल गरेका थिए ।

मलेसियामा नेपालले एसिया कप छनोटअन्तर्गत आयोजक मलेसिया, हङकङ, सिंगापुर, ओमान र युएईसँग प्रतिस्पर्धा गर्नेछ । अगस्ट २९ देखि शुरु हुने एसिया कप छनोटको विजेताले आगामी सेप्टेम्बरमा शुरु हुने एसियाकपमा खेल्न पाउनेछ । एसिया कप सेप्टेम्बर १३ देखि २८ तारिखसम्म युएईमा हुँदैछ । एसिया कपमो समूह ए मा पाकिस्तान र भारत रहेका छन् । छनोटमा जित्ने टोलीले क्रिकेटका यीनै महारथीको समूहमा खेल्नुपर्ने हुन्छ ।