खोटाङमा चन्दावाटै व्यवस्थित कम्प्युटर कक्षा सञ्चालन

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यु माध्यमिक विद्यालयमा चन्दा संकलन गरेरै ब्यवस्थित कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । हाल बेलायत (युके)मा बसोवास गर्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा संकलन गरिएको ११ थान कम्प्युटर जडान गरी विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरिएको हो ।
विद्यालयमा विद्युत नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेट समेत जडान गरिएको छ । समाजसेवी राईले नौं थान कम्प्युटर र १६ थान सोलार सेट साकुमा फ्रेण्डसिप ट्रष्ट युकेमार्फत विद्यालयलाई उपलब्ध गराउनुभएको प्रधानाध्यापक तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।
थप तीन थान कम्प्युटर ध्यानकुमार राई, उषा–दिपेन राई र मुकेश राईले एक÷एक थान उपलब्ध गराउनुभएको जनाइएको छ । विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि १२ लाख २५ हजार ५ सय ८४ रुपैंयाँ बराबरको अक्षयकोष समेत स्थापना गरिएको छ ।
सुन्तलेमा जन्मिएर विभिन्न देशमा कार्यरत प्रवासीबाट दश लाख ८९ हजार २ सय ९ र स्थानीयवासीबाट संकलन भएको रु एक लाख ४३ हजार ३ सय ७५ गरी उक्त अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि राईले बताउनुभयो ।
‘सुन्तले कम्प्युटर सञ्चालन अक्षयकोष’ नाम दिइएको अक्षयकोष स्थापनाका लागि कुवेतमा रहनुभएका सुन्तलेका केदार आलेमगरको नेतृत्वमा रकम संकलन गरिएको जनाइएको छ । अक्षयकोषमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले दश हजार, गाउँपालिका प्रमुख शालिकराम बञ्जराले २० हजार ५ सय, उपप्रमुख गोमा मगरले पाँच हजार र नेपाल कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता निश्चल खड्काले सात हजार रुपैंयाँ रकम उपलब्ध गराउनुभएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
भौगोलिक रुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै स्थानीयवासीले समेत थोरै शुल्क तिरेर आफ्नै ठाउँमा कम्प्युटर शिक्षा हाँसिल गर्न पाउने भएपछि सुन्तलेवासी हर्षित भएका छन् ।
अक्षयकोषबाट आएको ब्याजले एक जना कम्प्युटर शिक्षकलाई मासिक २० हजार तलब उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
विद्यालयमा कम्प्युटर कक्षा स्थापना भएसँगै ईमेल÷ईन्टरनेट सेवा समेत बिस्तार गर्ने तयारी गरिएको बताईएको छ ।