गाईजात्राका नाममा भक्तपुर बन्यो सञ्चारविहीन

0
Shares

भक्तपुर ।
भक्तपुरको सांस्कृतिक महत्व बोकेको गाईजात्रा पर्व मनाउने भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका टेलिफोन, इन्टरनेट र केबलका तार काटेपछि भक्तपुर नगरका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।

भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व व्यवस्थित गर्ने भन्दै गत शुक्रबारदेखि नेपाल टेलिकमको दुई हजार लाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्व पार्ने गरी तार काटेको नेपाल टेलिकमका कर्मचारी प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको निर्देशनमा भक्तपुर नगरपालिकाले टेलिफोनसँगै केबल टेलिभिजनका तीन हजार र अन्य इन्टरनेट सेवा प्रदायकका एक हजार तार काटेपछि भक्तपुर नगर क्षेत्र सञ्चारविहीन बनेको भक्तपुर नगरपालिका–९ का कृष्णराम कुम्पाखले बताउनुभयो ।

टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा अवरुद्व भएपछि स्थानीयवासीले विरोध गर्दै तत्काल लाइन जडान गर्न माग गरेका छन् । मानवीय जीवनको अत्यावश्यक सेवाका रुपमा रहेको सञ्चारका सबै सुविधा काटिएपछि भक्तपुरका बासिन्दा अन्योलमा परेको उनीहरुको भनाइ छ ।

यसअघिका गाईजात्रा, बिस्केटलगायतका जात्रामा कुनै पनि सञ्चार सुविधा काट्ने नगरे पनि यस वर्ष भने भक्तपुर नगरपालिकाले सञ्चारका सबै लाइन काटेको वडा नं ६ का चन्द्रमान लावले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा गएर काटिएका टेलिफोन, केबल टिभी र इन्टरनेटको तार तत्काल जडान गर्न माग गर्दा पनि बेवास्ता गरिएको अर्का स्थानीयवासी महेन्द्र ताल्चा भडेँलले गुनासो गर्नुभयो ।

नेपाल टेलिकमका कर्मचारी ध्रुव भण्डारीले नगरपालिकाले टेलिकमकै भ¥याङ्ग र औजारहरु प्रयोग गरी दुई हजार टेलिफोन लाइन काटेको बताउनुभयो । उहाँले सेवा जडान गर्दा तार मिलाउन समस्या आउनसक्ने जनाउनुभयो ।

प्रजिअ भट्टले भने तीनवटै वडाका अध्यक्ष आएर तारका कारण गाईजात्रा सञ्चालन गर्न समस्या परेको भन्दै लाइन काट्न माग गरेपछि समिति बनाएर लाइन काटिएको बताउनुभयो ।

उहाँका अनुसार वडा अध्यक्षसहितको नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालयसमेत रहेको समिति बनाएर स्थलगत अध्ययन गरी गाईजात्रा सञ्चालन हुने मार्गमा समितिको निर्णयअनुसार लाइन काटिएको बताउनुभयो । गाईजात्रा सम्पन्न भएपछि काटिएका लाइन पुनः जडान गरिने उहाँको भनाइ छ ।
रासस