अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको रावाबेंसी गाउँपालिका–६ हौंचुरमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयवासीले वडा कार्यालय तालाबन्दी गरेका छन् । वडामा सञ्चालन भएका योजनामा व्यापक आर्थिक अनियमितता भएको भन्दै पर्शुराम राई नेतृत्वको समूहले शनिबार बेलुका वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडा अध्यक्ष राजु श्रेष्ठले आफ्नो मनोपली ढङ्गबाट योजना सञ्चालन गर्नुका साथै आर्थिक अनियमितता गरेकाले छानविन गरेर कारवाही गर्न माग गर्दै वडा कार्यालय तालाबन्दी गरिएको जनाईएको छ । वडाध्यक्षले हरेक योजना आफ्नो अनुकुलमा सञ्चालन गर्दै आएको र सो विषयमा कुरा राख्दा चित्त बुझ्दो जवाफ नआएपछि तालाबन्दी गर्नु परेको तालाबन्दीको नेतृत्वकर्ताको भनाई छ ।

योजना सञ्चालनमा भएको आर्थिक अनियमितता सम्बन्धी छानविन गरी कारवाही तथा आगामी दिनमा नदोहोरिने प्रतिवद्धता नगरेसम्म ताला नखोलिने उनीहरुले अडान लिएका छन् । वडा अध्यक्षले उपभोक्ता समिति गठन गर्दा समावेसी नबनाएको, समिति गठन गरिएको योजना पनि ठेकेदारलाई दिएको, आफ्नो अनुकुलका व्यक्तिहरुलाई मात्र समितिमा राखेको लगायतका आरोप उनीहरुले लगाएका छन् ।
वडा अध्यक्ष श्रेष्ठले भने आफूले स्थानीय तह सञ्चालन कार्यविधि अनुसार नै काम अगाडि बढाएको बताउनुभएको छ । चित्त नबुझेको खण्डमा सम्बन्धित निकायमा जान सल्लाह दिँदादिँदै आवेसमा आएर तालाबन्दी गर्नु निन्दनीय विषय भएको वडाध्यक्षको तर्क छ ।
स्थानीयवासीले गरेको तालाबन्दीका विषयमा छानविन गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो ।