पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणाका लागि अभियान

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणाका लागि अभियान थालिएको छ । गाउँपालिकाकै पहिलो सरसफाई उन्मुख वडा घोषणाका लागि अभियान थालिएको हो ।
व्यक्तीगत सरसफाई, घरायसी सरसफाई र वातावरणीय सरसफाई सम्वन्धी सूचक पूरा गर्दै पूर्ण सरसफाईयुक्त वडा घोषणाका लागि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको बताईएको छ । प्रदेशसभा सांसद रामकुमार राई र साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले शनिबार खिदिमालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरेका छन् । गाउँपालिकालाई नै पूर्णसरसफाई उन्मुख घोषणाको पहल स्वरुप वडामा पूर्ण सरसफाई उन्मुख अभियान थालिएको वडाध्यक्ष मणीकुमार राईले बताउनुभयो ।

पूर्ण सरसफाईयुक्त वडा घोषणाका लागि प्रत्येक व्यक्तिले व्यक्तिगत सरसफाई÷स्वच्छता कायम गर्ने, महत्वपूर्ण अवस्थामा प्रत्येक व्यक्तिको साबुन पानीले हात धुने अभ्यास, प्रत्येक घरमा चर्पी निर्माण तथा नियमित प्रयोग लगायतका कार्य गरिने छ । यस्तै, वडाका प्रत्येक घरमा घरायसी तहमा पिउने पानीको सुरक्षित व्यवस्थापन, प्रत्येक घरमा ठोस वस्तु÷फोहोरमैलाको उचित व्यवस्थापन, प्रत्येक घरमा सरसफाईको इकाई निर्माण तथा प्रयोग, प्रत्येक घरमा तरल फोहोरमैलाको उचित व्यवस्थापन गर्ने अभियोन थालिएको छ ।
वडाको प्रत्येक घरमा सुधारिएको चुल्हो÷बायो ग्याँस, सार्वजनिकस्थलको सरसफाई गरेको अवस्थामा वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिने वडा कार्यालयले जनाएको छ ।