म्याग्दीमा कृषि ज्ञान तथा पशुसेवा विज्ञ केन्द्र स्थापना

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दी जिल्लामा कृषि ज्ञान केन्द्र एवं भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना भएको छ । जिल्लाका कृषकहरुलाई लक्षित गरेर कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको हो ।
आइतबार दुईवटै केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेश सरकारले जलविद्युत तथा पर्यटनको विकास र कृषि उत्पादनलाई जोड दिने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा आवश्यक संरचनाहरु निर्माण एवं ऐनकानुन र नीतिनियम बनाएर कार्यक्रमहरु लागू गरिने जानकारी दिनुभयो ।

मन्त्री थापाले उत्पादन गरिएका कृषि उपजहरु सङ्कलन गर्नका लागि विभिन्न स्थानमा कोल्ड स्टोरहरु निर्माण गरिने बताउँदै त्यसका लागि स्थानीय तह र सहकारी संघसंस्थाहरुसँग आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले सहकारी, कृषक समूह, व्यवसायी र फार्ममार्फत कृषि तथा पशुसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने भन्दै एक गाउँ एक सहकारी स्थापना गरेर नमुना उत्पादनमा जोड दिइने बताउनुभयो । सहकारी, निजी र सहकारीको साझेदारीमार्फत कृषि उत्पादनलाई परिचालन गरिने उहाँको भनाइ छ ।
सहकारी संघसंस्थामार्फत आफ्ना शेयर सदस्यहरुलाई सर्टिफिकेट धितो राखेर ऋण प्रवाहको व्यवस्था मिलाइने भन्दै मन्त्री थापाले ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गरिने बताउनुभयो । उहाँले जग्गा बाँझो राख्न नपाइने र भूमी उत्पादनतर्फ केन्द्रीत हुने बताउँदै ठूलो उत्पादनलाई जोड दिइने तथा मेसिनको प्रयोगमा कृषि उत्पादनमा लागिने बताउनुभयो ।

मन्त्री थापाले भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशु रोगको उपचार, रोकथाम र निदान तथा व्यवसायिक फामहरुको विकासमा सहयोग पु¥याउने बताउँदै कृषि ज्ञान केन्द्रले कृषि उपज सङ्कलन केन्द्रहरु स्थापना तथा किसानहरुलाई प्राविधिक सहयोग उपलब्ध गराउने बताउनुभयो । साथै उहाँले किसानहरुको समस्यालाई हल गर्नका लागि कृषकसँग कृषि मन्त्री कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जानकारी पनि दिनुभयो ।