बिकट अण्डमान टापुमा नेपालीपनको माया

0
Shares

हेटौंडा ।
हेटौंडा नगरका एक वडाध्यक्षसहितको टोली त्यहाँको भौगोलिक तथा लामो समयदेखि त्यहाँ रहँदै आएका नेपालीको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्न भारतको टापु समूहमा पुगेको छ ।
भारतको अण्डमान र निकोबार द्वीप समूह पुग्नुभएका उहाँहरुले नेपाल समाचारपत्रसँग भन्नुभयो–दुःखमा बाँचे पनि त्यहाँको नेपालीपनले मन छोयो । टोलीका सदस्य हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले भन्नुभयो–नयाँ ठाउँको भ्रमणबाट निकै दुःखमा बाँच्नु परे पनि नेपालीबीचको एकता विदेशमा प्रत्यक्ष महसुस गरेका छौं । ‘त्यहाँ नेपाली निकै सभ्य रहेछन्,’ चौलागाईंले भन्नुभयो ।
उहाँका अनुसार त्यहाँका सबै टापुहरुमा गरी करिब ३ सय घर नेपाली छन् । उनीहरु विभिन्न ठाउँमा छरिएर रहेका छन् । उनीहरुलाई त्यहाँको सरकारले बस्ने अनुमतिसहित ‘आधारकार्ड’ दिएको छ ।
त्यहाँ नेपालीहरु खेतीपाती, केही सरकारी जागिर, केही सुरक्षा गार्ड, समुद्रमा बोटिङ, माछा मार्ने त केही रेष्टुँरा चलाएर गुजारा गरिरहेका छन् । उनीहरु सामान्य छाप्रो बनाएर बस्दै आएको देखिएको वडा अध्यक्ष चौलागाईंले बताउनुभयो । म्यानमार र श्रीलंकाबाट पनि नजिक पर्ने उक्त क्षेत्रमा आफूहरुले संसारको ठूलोमध्ये एक सेल्युलर जेल पनि देखेको उहाँले बताउनुभयो ।

हेभलक नामक टापुमा त रामेछापका एक नेपाली परिवारले करिब १३ वर्षदेखि रेष्टुँरा चलाएर बसेको उहाँले बताउनुभयो । उक्त क्षेत्रलाई जापान र ब्रिटिसले उपनिवेश पनि बनाएको थियो । भारत स्वतन्त्र भएपछि उक्त टापु समूह भारतको अधिनमा आएको हो ।
‘त्यहाँको सिंगो टापुमा नरिवल, सुपारीको खेती गरिएकोपाइयो,’ उहाँले उक्त क्षेत्रमा कहींकहीं मात्र तरकारी र धानको खेती रहेको बताउनुभयो । त्यहाँ विशेषतः झापा, उदयपुर, सर्लाही र सिरहाका नेपाली बढी रहेको उहाँले जानकारी दिनुभयो । उनीहरुले स्थानीय विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउने गरेका छन् । ती बालबालिकाहरु नेपालीहरु उक्त स्थानमा पुगेपछि निकै खुशी हुने गरेको चौलागाईंको अनुभव छ ।

१९५६ नोभेम्बर १ मा उक्त टापु स्थापना गरिएको हो । यसको राजधानी तथा तथा सबभन्दा ठूलो शहर पोर्टब्लेयर हो ।
३ जिल्ला रहेको टापुको क्षेत्रफल ३ हजार १ सय १७ वर्गमी छ भने सन् २०१२ को जनगणनाअनुसार ३ लाख ८० हजार जनसंख्या रहेको बताइएको छ ।
अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्रशासित प्रदेश हो । यो बंगालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ.। अण्डमान र निकोबार ५ सय ७२ वटा सानाठूला टापुको समूह हो, जसमध्ये ३९ वटा टापुमा मात्र आवादी रहेको वडाध्यक्ष चौलागाईंले बताउनुभयो ।