एक सेकेन्डमा खेल समाप्त


न्युयोर्क, (एजेन्सी)
अमेरिकाको मिनियापोलिस एरेनामा एक सेकेन्डमै बक्सिङ खेल समाप्त भएको छ। बक्सर कुर्टिस हार्परले खेलको घन्टी बजेको स्थितिमै रिङ छाडेका हुन्। हेभिवेटको प्रतिस्पर्धामा ३० वर्षीय अमेरिकी बक्सरले नाइजेरियाका एफे एजाग्बाविरुद्ध खेल्न नमानेका थिए।
उनको यो व्यवहारले उनका ट्रेनरले लाजमर्दो भएको बताए।

ट्रेनर क्याम्पबेलले सोसल मिडियामा बताए– ‘यो मान्छेले उनी आफैलाई, उनकी श्रीमती, प्रशंसक र मलाई अपमान गरे। उनी रिङबाट हिँडेका थिए किनभने उनले फाइट गर्न पर्याप्त पैसा पाइरहेका थिएनन्।’

एजेन्सीले जनाएअनुसार हार्परले खेलअगाडि नै सम्झौतापत्र हेर्न चाहेका थिए। जबसम्म सम्झौता हुँदैन उनले नखेल्ने भनेका थिए। सम्झौतापत्र हेर्न नपाएपछि उनी रिङबाट खेल शुरु हुन लागेको बेला नै बाहिर निस्केका थिए। उनको यस्तो अचम्मको व्यवहारले दर्शक निराश भएको पनि एजेन्सीले जनायो।

हार्परले बक्सिङ रिङ छाडेको फुटेज पूर्वहेभिवेट च्याम्पियन ब्रिटेनका लेनोक्स लेविजले सोसल मिडियामा सेयर गरेका थिए। ब्रिटिस हेभिवेट बक्सर टोनी बेलिउका ट्रेनर डेभ कोल्डवेलले ट्विटरमा लेखे– ‘बक्सिङ…अपेक्षा, अनपेक्षा, यसअघि यस्तो मैले कहिल्यै देखेको छैन।’
हार्परले योसँगै ६ मा हार र १३ मा जित हात पारेका छन्। त्यस्तै २४ वर्षीय अजाग्बाले अहिलेसम्म ६ खेलेको र ६ मै जित हासिल गरेका छन्। जसमा उनले ५ खेल नकआउटमा जितेका छन्।