अब क्याटसुट लगाउन पाइँदैन


लन्डन, (एजेन्सी)
यस वर्ष सम्पन्न भएको फ्रेन्च ओपनमा सेरेना विलियम्सले कालो बिरालोको लुगा (क्याटसुट) लगाएकी थिइन्। उनले प्रतियोगितामा आफुलाई सुपर हिरोजस्तै भएको महसुस गरेको पनि बताएकी थिइन्। तर फ्रेन्च ओपन टेनिस महासंघका लागि भने यो पोशाक मन परेन। महासंघका अध्यक्ष बर्नार्ड गिउडिसेलीले टेनिस म्यागेजिनमा बताए– ‘यो पोशाकलाई स्वीकार गर्न सकिँदैन। मलाई लाग्छ कहिलेकाहीं हामीहरू धेरै टाढा जान्छौं। तपाईंले खेल र स्थानलाई
सम्मान गर्नुपर्छ।’

गिउडिसेलीले नयाँ नियमको खुलासा गरेका थिएनन्। तर विम्बल्डनमा जस्तै सेतै लुगा लगाउनुपर्छ भन्ने कडा नियम नभएको पनि उनले बताएका थिए। उनको भनाइअनुसार सन् २०१९ का लागि खेलाडीले लगाउने लुगाको योजना बनाइसकेको छ। महासंघले डिजाइनका लागि हेरिरहेको छ।

३६ वर्षीया सेरेनाले मेमा भएको ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनमा पुनरागमन गरेकी थिइन्। उनले सेप्टेम्बरमा छोरी जन्माएपछि उनको पहिलो ग्रान्डस्लाम नै फ्रेन्च ओपन थियो। अमेरिकी खेलाडीले पहिलो तीन चरणमा बिरालोको लुगा झल्काउने क्याटसुट लगाएकी थिइन्। तर चौथो चरणमा मारिया सारापोभाविरुद्धको खेल चोटका कारण उनले परित्याग गरेकी थिइन्।