नेपाल पदकविहीनतिर अग्रसर


काठमाडौं, (नेस)
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन बन्ने सम्भावना बढ्दै गएको छ।

तेक्वान्दो र उसुमा शून्य उपलब्धि भएपछि शनिबार चन्चला दनुवारको पराजयले पदक जित्ने आशा झनै न्यून बनाइदिएको छ। महिला कराँतेतर्फ रिपाजेबाट पदकसम्म पुग्ने मौका चन्चलाले सदुपयोग गर्न सकिनन्। उनी रिपाजे फाइनलमा उत्तर कोरियाकी काङ जी उडलाई ३–२ ले हराएर पदकको सम्भावनामा दरिएकी थिइन्।

कराँतेको महिला एकल काँतातर्फ कांस्य पदकका लागि भएको खेलमा चन्चला थाइल्यान्डकी तारात्तानाकुल मोन्सीकासँग ५–० अंकको अन्तरले हारेकी हुन्। यसअघि उनी क्वार्टरफाइनलमा मकाउकी सौ सोइलामसँग पनि सोही अन्तरले पराजित भएकी थिइन्।

अर्की महिला खेलाडी रीता कार्की ६८ केजीमाथि क्वार्टरफाइनलमा चीनकी मेङमेङ साउसँग ३–० ले पराजित भइन्। कांंस्य पदकको रिपाजे बाउटमा पाकिस्तानकी नर्गिसले रीतालाई ३–१ ले पाखा लगाइन्। कराँतेमा क्वार्टरफाइनलमा हारे पनि रिपाचे बाउटमा कांस्य पदकमा भिड्ने मौकाको प्रावधान रहेको छ। यस्तै कराँतेतर्फका अर्का नेपाली खेलाडी परशुराम बास्तोला पहिलो चरणबाटै बाहिरिएका थिए। पुरुष एकल काँतातर्फ कतारका हाशेम आधामले परशुरामलाई ५–० ले हराएका थिए।

नेपालले १९८६ एसियाली खेलकुददेखि पदक जित्न थालेको हो। सोलमा भएको एसियाली खेलकुददेखि २०१४ मा इन्चोनमा भएको एसियाली खेलकुदसम्म नेपालले पदक लगातार जितिरहेको छ। चार वर्षअघि इन्चोनमा भएको १७औं एसियाली खेलकुदतर्फ महिला एकल काँतामा विमला तामाङले नेपालका लागि कांस्य पदक दिलाएकी थिइन्।

नङशल पराजित

ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ शनिबार जापानकी अकाने यामागुचीसँग २१–७ र २१–१२ को सोझो सेटमा पराजित भइन्। पुरुष डबल्सको प्रिक्वार्टरफाइनलमा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी मलेसियाका
जोडीसँग २१–९ र २१–१२ को
सोझो सेटमा हार्यो।

आर्चरी
आर्चरीको रिकर्भ पुरुष टिममा नेपाल ताइपेइसँग ६–० ले पराजित भएसँगै आर्चरीमा नेपालको चुनौती समाप्त भएको छ। यसअघि नेपाली टिमले कतारलाई ६–० ले हराएको थियो।

बक्सिङमा पनि निराश
बक्सिङको दोस्रो दिन ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेकामा सबैले पहिलो खेलमा हार ब्यहोरे। पुरुष ४९ केजीमा नेपालका तेजबहादुर देउजा लाओसका खेलाडीसँग ३–१ तथा नेपालका भूपेन्द्र थापा जोर्डनका खेलाडीसँग ४–० ले पछि परे। महिला ६० केजीमा चीनकी खेलाडीले नेपालकी पुनम रावललाई ५–० ले निराश पारिन्।