दीपेन्द्र शर्मा, सुर्खेत
कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै वास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
छाउपडी उन्मूलनका लागि सरकारले कडा नीति र विभिन्न संघसंस्थाहरुले अभियाननै थालनी गरेपनि कर्णाली अझै पनि ७७ प्रतिशत किशोरीहरु छाउगोठमै रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।
छाउपडी उन्मूलनका क्षेत्रका काम गर्दै आएको एक संस्थाको तथ्याङ्क अनुसार छुई अर्थात महिनावारी भएका ७७ प्रतिशत किशोरीहरुले छाउगोठमा बस्ने गरेका छन्् ।
छाउपडी सामाजिक कुसंस्कार हो भन्ने जान्दा जान्दै पनि विद्यालय उमेरकै ७७ प्रतिशत किशोरीहरु छाउगोठमै बस्ने बाध्य भएको संस्थाका कार्यक्रम संयोजक सोमराज जिसीले जानकारी दिए । उनका अनुसार अध्ययनले महिनावरी भएको समयमा घरभित्र बस्दा देउता रिसाउने डरले किशोरीहरु अझै पनि छाउगोठमै बस्न बाध्य भएको तथ्याङ्क देखाउछ ।
कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरिहरुले विद्यालय छोड्ने गरेको एक्सन वक्र्स नेपाल संस्थाले अध्ययन गरि सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
सार्वजनिक भएको तथ्याङ्ग अनुसार कक्षा छ देखि १२ सम्मका समूहका महिलाहरुले नै छाउगोठमा बस्ने गरेका हुन् । महिनावरी भएको समयमा ८५ प्रतिशत महिला दिदीबहिनीहरुले दही दुध खान पाएका छैनन् भने ९१ प्रतिशत महिलाहरुले भान्सामा प्रवेश नपाएको अध्ययनले देखाएको जिसीले वताए ।
५३ प्रतिशत महिलारुले धार्मिक तथा साँस्कृतिक कारणले छाउबार्ने गरेका हुन् । छाउपडि प्रथा उर्मुलनका लागी विभिन्न गैरसरकारी निकायले विभिन्न समयमा गरिएको जनचेतनामूलक कार्यक्रमहरु समेत प्रभावकारी देखिएको छैन ।
कर्णालीका ६० प्रतिशत महिलाहरुलाई सरकारी नीति नै थाहा नभएको तथ्याङ्कमा उल्लेख गरिएको ।
यसैबीच आमा अर्थात महिलाहरुलाई बचाउनका लागि कर्णालीमा विशेष अभियानको थालनी भएको छ ।
दिन प्रति दिन महिलाहरु गोठमै मृत्युवरण गर्नुपरेको भन्दै गोठबाट घरमा ल्याउने उद्देश्यका साथ अभियानको थालनी गरिएको हो ।
एपक्सन वक्र्स नेपाल र वी ग्रुपले कर्णाली प्रदेशका जुम्ला, कालिकोट र मुगु जिल्लामा छाउपडी विरुद्धका कार्यक्रम सुरु गरेको छ । जसमा तीन जिल्लाका १० स्थानीय तहलाई छाउपडी उन्मूलन गरिसकिएको संस्थाका कार्यक्रम संयोजक जिसीले जानकारी दिए ।
उनका अनुसार मुगुमा १ जुम्लामा ३ र कालिकोटमा ६ वटा स्थानीय तह छाउगोठमुक्त भैसकेका छन् । संस्थाले जनचेतना र क्षमता अभिवृद्धि कार्यक्रम गर्दै आएको छ ।











प्रतिक्रिया