कम उमेरमा आमा बन्नेको सङ्ख्या उच्च

0
Shares

गणेश घिमिरे, इलाम
पूर्वी पहाडी जिल्ला इलाममा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या उल्लेख्य रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङकमा २० बर्ष र तथा त्यो भन्दा कम उमेरमा आमा बन्नेको सङ्ख्यामा बर्षेनि कमि देखिदै गएपनि जिल्ला बाहिरका अस्पतालमा प्रसुती सेवा लिनेको सङ्ख्या उच्च रहेको पाइएको छ ।

जनस्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स अधिकृत सरीता सुब्बाले जिल्लाका अधिकाँश गाउँमा गएर गरेको अध्ययन अनुसार २० बर्ष भन्दा कम उमेरमा आमा बन्ने र गर्भपतन गराउनेको सङ्ख्या इलाममा उच्च रहेको बताइन् । यसरी उमेरै नपुगि आमा बन्ने अधिकाँश महिलाको शल्यक्रियाबाट प्रसुती गराएको पाइएको उनको भनाई छ ।

इलाम अस्पताल सहित जिल्लाका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने ८० प्रतिशत महिला मध्ये ५० प्रतिशत महिलाले महिलाहरु जिल्ला बाहिरका अस्पतालबाट प्रसुती सेवा लिने गरेका छन् । बाँकी ३० प्रतिशत महिलाले मात्र जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिने गरेका छन् ।

जिल्ला बाहिर प्रसुती गराउन महिलाहरु झापाको लाईफ लाइन, आम्दा, बिएण्डसि लगायतका अस्पतालमा बढी मात्रामा पुग्ने गरेको बताइएको छ । गत आर्थिक बर्ष ०७४÷०७५ मा जिल्लामा २० बर्ष तथा त्यो भन्दा कम उमेरका ७ सय ५० जना महिलाले पहिलो पटक गर्भ जाँच गराएकोमा ३ सय ३ जना महिलाले मात्र इलामका स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको जनस्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । बाँकि महिलाले जिल्ला बाहिरका अस्पतालबाट लिएको सुब्बाले गरेको अध्ययनले देखाएको छ । सोहि आर्थिक बर्षमा २० बर्षभन्दा बढि उमेर समूहका २१ सय जना महिलाले पहिलो गर्भ जाँच गराएका थिए ।

स्वास्थ्यको तथ्याङक अनुसार गत आवमा जिल्लामा जम्मा १४ सय ४६ जना महिलाले इलाम अस्पताल सहित जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको कार्यालयका तथ्याङक सहायक सञ्जु कार्कीले जानकारी दिइन् । उनका अनुसार इलाम अस्पतालबाट मात्रै ९ सय ३४ जनाले प्रसुती सेवा लिएका छन् । यस्तै अघिल्लो आवमा २० बर्षभन्दा कम उमेरमा आमा बन्नेको सङख्या जिल्लामा ३ सय ३३ जना र सो उमेर माथिको सङख्या २१ सय २६ जना रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

जिल्लामा बाल बिबाह गर्नेको सङख्या बढेसंगै कलिलो उमेरमा आमा बन्ने अर्थात सन्तान जन्माउनेको सङख्या बढेको हो । कानुनी व्यवस्था अनुसार विवाह गर्ने न्यूनतम उमेरभन्दा कम उमेरमा विवाह गर्नुलाई बाल विवाह भनिन्छ । बाल विवाह हुने गरेकै कारण कम उमेरमै सन्तान जन्माउनेको सङ्ख्या उल्लेख्य रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । भर्खरै आएको मुलुकी ऐनमा केटा र केटीको उमेर २० बर्ष नपुगि गर्न पाइन्न । त्यो भन्दा कम उमेरमा बिबाह गरे त्यो बाल बिबाह हुनेछ ।

जिल्ला अस्पताल बाहेक ग्रामीण क्षेत्रमा रहेका बर्थिङ सेन्टर (प्रसूति केन्द्र)बाट प्रसूति सेवा लिएका पनि २० वर्षभन्दा कम उमेरका महिलाको सङ्ख्या उल्लेख्य रहेको पाइएको बताइएको छ । जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका अन्यसमेत जिल्लामा २३ वटा सुरक्षित प्रसूतिका लागि बर्थिङ सेन्टर हाल सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यता स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समिति लगायतका सङ्घ÷संस्थाले जिल्लामा हुने बाल विवाह र कम उमेरमा शिशु जन्माउने अवस्थालाई न्यूनीकरण गर्न विभिन्न चेतनामूलक कार्यक्रम भने गर्दै आएका छन् । चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि अपेक्षाकृत उपलब्धि भने हुन सकेको छैन ।

‘कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैको ज्यान जाने उच्च जोखिम रहेपनि चेतनाको अभावसँगै कतिपय गरिबीले गर्दा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने र आमा बन्ने पाइएको छ’ पब्लिक हेल्थ नर्स अधिकृत सुव्वाले भनिन् ‘बाल विवाह नरोकिएसम्म कम उमेरमा आमा बन्नेको सङख्या घट्न सक्दैन ।’

सरकारले बाल बिवाह विरुद्धको अभियान प्रभावकारी रूपमा चलाउन आवश्यक रहेको महिला अधिकारकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीले २० वर्षभन्दा कम उमेरका गर्भवती महिलाले जन्माएका शिशु स्वस्थ नहुने र आमाको ज्यान जाने खतरासमेत हुने बताएका छन् । शारीरिक परिपक्वता नभई किशोरीले शिशु जन्माँउदा शिशुमा कुपोषण र आमाको पाठेघर खस्नेलगायतका समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसंगै युवापुस्तामा प्रेम बिबाह बढि हुँदा उमेरको मतलव नराख्दा यो समस्या जटिल बन्दै गएको हो ।